काठमाडौं । सिजी मोटोकर्पले नेपालमा सुजुकीको पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल सुजुकी ई–भिटाराको आधिकारिक बुकिङ खुला गरेको छ। बुधबार पोखरामा आयोजित वाडा अटो शोमार्फत सार्वजनिक गरिएको यो गाडीको सुरुवाती मूल्य रु ४९,९९,००० तोकिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो विशेष मूल्य सीमित अवधिका लागि मात्र लागू हुनेछ र सुरुवाती भेरियन्टमा उपलब्ध रहनेछ। सुजुकीले पहिलो पटक नेपाली बजारमा प्रिमियम ईभी ल्याउँदै जापानी प्रविधि, विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङ स्थापित गर्ने लक्ष्य राखेको छ।
ई–भिटारा दुई ब्याट्री विकल्प—४९ kWh र ६१ kWh मा उपलब्ध छ। जसले क्रमशः १०६ kW र १२८ kW पावर आउटपुट प्रदान गर्छ। कम्पनीले यसलाई आफ्नो मूल्य वर्गमै सबैभन्दा शक्तिशाली ईभीमध्ये एक भएको दाबी गरेको छ। एकीकृत ३–इन–१ इलेक्ट्रिक पावरट्रेन प्रणालीले पर्फर्मेन्सलाई थप सुदृढ बनाएको छ भने ५०० किलोमिटरभन्दा बढी ड्राइभिङ रेन्ज दिने बताइएको छ।
डिजाइनतर्फ, गाडीमा मस्कुलर एसयूभी स्टान्स, १८ इन्च एरोडाइनामिक अलोय ह्वील, एलईडी हेडल्याम्प र आकर्षक फ्रन्ट डिजाइन रहेको छ। भित्री भागमा डिजिटल ककपिट, ट्विन–डेक फ्लोटिङ कन्सोल, १०।१ इन्च इन्फोटेनमेन्ट डिस्प्ले र १०।२५ इन्च मल्टि–इन्फर्मेसन डिस्प्ले जडान गरिएको छ। ‘इन्फिनिटी बाइ हार्मन’ साउन्ड सिस्टम, वायरलेस कनेक्टिभिटी, सनरुफ र मल्टि–कलर एम्बियन्ट लाइटिङले प्रिमियम अनुभव दिने कम्पनीको भनाइ छ।
आरामका लागि भेन्टिलेटेड फ्रन्ट सिट, १०–वे पावर–एडजस्टेबल ड्राइभर सिट र ४० : २०: ४० स्प्लिट रियर सिट कन्फिगरेसन जस्ता सुविधाहरू उपलब्ध छन्। नयाँ ईभी प्लेटफर्ममा निर्माण गरिएको यो गाडीमा २,७०० एमएम ह्वीलबेस र कम्प्याक्ट टर्निङ रेडियसले सहज ड्राइभिङ अनुभव दिने उल्लेख गरिएको छ।
सुरक्षातर्फ, लेभल–२ एडीएएस, ७ एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, ई–कल सुविधा र चारै पाङ्ग्रामा डिस्क ब्रेकजस्ता आधुनिक सुरक्षा प्रणाली समावेश गरिएको छ।
कम्पनीले सन् २०३० सम्म थप ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना समेत अघि सारेको छ। ई–भिटाराको बुकिङ देशभरका सुजुकी शोरुममार्फत खुला गरिएको छ।






Comment