काठमाडौं । महिला उद्यमी महासंघ नेपाल (एफवीन)ले नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ। आगामी चैत २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने मेला ललितपुरको हेरिटेज गार्डेनमा हुने जनाइएको छ।
महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी दिएको हो। विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका घरेलु, साना र मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्ताको सहभागिता रहने मेलामा करिब ६ हजारभन्दा बढी सदस्य रहेको महासंघको सक्रिय भूमिका रहनेछ।
संस्थाकी अध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेला केवल व्यापारिक प्रदर्शनी मात्र नभई महिला आर्थिक सशक्तीकरणको अभियान पनि हो। यसपटक मेलामा प्रदर्शनीसँगै सिकाइका कार्यक्रम पनि समावेश गरिएका छन्। “नेपालको प्राकृतिक फाइबर अर्थतन्त्रको सम्भावना उजागर” विषयमा चैत ११ गते प्यानल छलफल आयोजना गरिने उनले जानकारी दिइन्। उक्त छलफलमा सरकारी निकाय, लगानीकर्ता तथा उद्यमीबीच प्राकृतिक फाइबरको सम्भावना, चुनौती र अन्तरराष्ट्रिय बजार विस्तारका विषयमा बहस हुनेछ।
श्रेष्ठले छोटो अवधिको मेलाले केही प्रभाव पारे पनि महिला उद्यमीका उत्पादन वर्षभरि प्रदर्शन गर्न सकिने स्थायी शोरूम आवश्यक रहेको भन्दै सरकारसँग पहल गर्न आग्रह गरिन्। साथै, उद्यमीहरूको क्षमता अभिवृद्धि, बजार विस्तार र अन्तरराष्ट्रिय पहुँचका लागि पर्याप्त कोषको अभाव रहेको पनि उनले उल्लेख गरिन्।
महासंघकी प्रथम उपाध्यक्ष तथा मेला संयोजक सुनिता वैद्य श्रेष्ठका अनुसार मेलामा नेपालका सबै ७ प्रदेश र ७७ जिल्लाका साथै सार्क मुलुक र चीनबाट समेत महिला उद्यमीहरूको सहभागिता रहनेछ। कुल १४० वटा स्टलमा करिब ३०० महिला उद्यमीले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नेछन्।
मेलाको उद्देश्य महिला उद्यमीका उत्पादनको प्रवर्द्धन, विक्री तथा अन्तरराष्ट्रिय बजारसँग जोड्ने, साथै लगानीकर्ता र निजी क्षेत्रसँग व्यावसायिक सहकार्य विस्तार गर्ने रहेको छ। आयोजकका अनुसार मेलाबाट करिब २ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ भने ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
मेलामा विभिन्न प्रदेशका रैथाने उत्पादनहरू समेत प्रदर्शनीमा रहनेछन्। कोशी प्रदेशबाट अल्लो, बाँस र जुटका सामान, कफी तथा टिमुरस मधेशबाट मिथिला आर्टस बागमतीबाट डेरी उत्पादन, लप्सी, हस्तकला तथा माटाका भाँडास गण्डकीबाट जडीबुटी, ढाका र गेडागुडीस लुम्बिनीबाट ढाका, बाँस तथा परम्परागत खाद्यवस्तुस कर्णालीबाट राडीपाखी तथा कृषिजन्य उत्पादनस र सुदूरपश्चिमबाट गलैंचा, काठका सामग्री तथा कृषि उत्पादनहरू प्रस्तुत गरिनेछन्।






Comment