२२ करोड बढी जरिवाना र ६ वर्ष कैद सजायका दोषी योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२२ करोड बढी जरिवाना र ६ वर्ष कैद सजायका दोषी योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ



काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ। निक्षेपकर्ता तथा संस्थाको हितविपरीत कार्य गरेको आरोपमा अदालतबाट सजाय पाएका श्रेष्ठ लामो समयदेखि फरार सूचीमा रहेका थिए। सीआईबीको टोलीले आइतबार उनलाई काठमाडौंको नागर्जुन नगरपालिका–५, सीतापाइलाबाट पक्राउ गरेको हो।

नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको जाहेरीका आधारमा सुरु भएको अनुसन्धानपछि सर्वोच्च अदालतले उनलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ठूलो रकम जरिवाना तथा कैद सजाय सुनाएको थियो।

सर्वोच्च अदालतले २०८१ भदौ ५ गते दिएको फैसलाअनुसार श्रेष्ठ दुईवटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भएका थिए। पहिलो मुद्दामा उनलाई १९ करोड ४६ लाख रुपैयाँभन्दा बढी जरिवाना र ३ वर्ष कैद सजाय तोकिएको थियो भने दोस्रो मुद्दामा ३ करोड २१ लाख रुपैयाँभन्दा बढी जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएको थियो। दुवै मुद्दाको सजाय जोड्दा श्रेष्ठले कुल २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना तिर्नुपर्ने र ६ वर्ष कैद भुक्तान गर्नुपर्ने फैसला भएको छ।

फैसलापछि फरार रहेका ६९ वर्षीय श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्। काठमाडौं महानगरपालिका–२४, वटु स्थायी घर भएका श्रेष्ठ पछिल्लो समय सीतापाइलामा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ। छन्।

प्रकाशित : 16 March, 2026 11:05 am