भिजनरी उद्यमी प्रवलजंग पाण्डे एफएनसीसीआई नेतृत्व दौडमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिजनरी उद्यमी प्रवलजंग पाण्डे एफएनसीसीआई नेतृत्व दौडमा



काठमाडौं । भिजनरी उद्यमी प्रवलजंग पाण्डे ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा एसोसिएट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। चैत २८ र २९ गते हुने महासंघको ६०औँ वार्षिक साधारणसभामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ।

व्यावसायिक क्षेत्रमा स्पष्ट दृष्टिकोण भएका उद्यमीका रूपमा चिनिने पाण्डेलाई निजी क्षेत्रका समस्या र चुनौतीबारे गहिरो बुझाइ भएको व्यक्तिका रूपमा लिइन्छ। उनलाई नजिकबाट चिन्नेहरूले समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने, टिमवर्कमा विश्वास गर्ने र अध्ययनशील नेतृत्वका रूपमा चित्रण गर्छन्।

व्यावसायिक अनुभव, नीतिनियमको ज्ञान र सरकारी तहसँग प्रभावकारी समन्वय गरेर काम गर्न सक्ने क्षमताका कारण उनले महासंघमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ। एसोसिएट क्षेत्रसँग उनको बलियो सम्बन्ध रहेको पनि बताइन्छ।

पाण्डेका अनुसार बदलिँदो राजनीतिक–आर्थिक परिवेश र हाल सुस्त बनेको अर्थतन्त्रलाई गति दिन दोस्रो चरणको आर्थिक सुधार आवश्यक छ। उनले नीतिगत स्थिरतालाई व्यवसायमैत्री वातावरणको अनिवार्य शर्त मान्दै कर प्रणालीलाई वैज्ञानिक बनाउन र कर चुहावट रोक्न बहुदरको मूल्य अभिवृद्धिकर (भ्याट) प्रणाली लागू गर्नुपर्ने बताएका छन्।

त्यसैगरी आयकरका दर घटाउने, उद्योगको उत्पादन लागत घटाउन सहुलियत दरमा विद्युत् उपलब्ध गराउने, हवाई टिकटमा लगाइएको भ्याट हटाउने, मुद्रास्फीतिको आधारमा न्यूनतम तलब निर्धारण गर्ने तथा भूतप्रवाही कर नलगाउने प्रतिबद्धताका लागि निजी क्षेत्रका संस्थाले सशक्त पहल गर्नुपर्ने उनको भनाइ छ।

कृषि उत्पादन वृद्धि, पर्यटन क्षेत्रको प्रभावकारी बजारीकरण, बिचौलिया प्रणाली अन्त्य, आयात प्रतिस्थापन गर्ने उद्योग स्थापना, विद्युत् प्रसारण लाइन विस्तार तथा व्यापार क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन महासंघले सक्रिय भूमिका खेल्नुपर्ने उनले बताएका छन्।

व्यवसायमा प्रवेश गर्नुअघि पाण्डे नेपाल टेलिकम मा इन्जिनियरका रूपमा कार्यरत थिए। हाल उनी Citizens Bank International का अध्यक्ष हुन्। सिमेन्ट, औषधि उद्योग, बैंकिङ, वित्त तथा बीमा क्षेत्रमा समेत उनको लगानी रहेको छ।

पाण्डे पछिल्ला तीन कार्यकालदेखि महासंघमा कार्यकारी सदस्यका रूपमा सक्रिय छन्। उनी महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डे का छोरा हुन्।

प्रकाशित : 15 March, 2026 12:22 pm