शेरचनद्वारा अध्यक्षको उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

शेरचनद्वारा अध्यक्षको उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति



काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को नेतृत्व सहमतिमै चयन गरिने भएको छ । सोहीअनुसार अध्यक्षका प्रत्याशी रोविन शेरचनले यसअघि दर्ता गराएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तामा सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ ।

सहमतिअनुसार उनले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् । ‘मेरो सुरुदेखि नै भनाइ संस्था एकताबद्ध हुनुपर्छ भन्ने थियो । सोहीअनुसार संस्थाको हितका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको छु । सहमतिअनुसार वरिष्ठ उपाध्यक्षमा मैले मनोनयन दर्ता गराएको छु’, उनले भने । उनलाई १३औँ महाधिवेशनमा अध्यक्ष बनाउने सहमति समेत भएको स्रोतको दाबी छ ।

सहमति बनेपछि अध्यक्ष श्रेष्ठले अहिलेको आवश्यकता सहमति भएकाले सोहीअनुसार अघि बढिएको बताउँदै अहिले शेरचनले फिर्ता लिएको र अन्य आकाङ्क्षीहरूलाई पनि मिलाएर चुनाव नगर्नेतर्फ आफूहरूको ध्यान रहेको बताए ।

केही महिनाअघि विभिन्न समूहमा विभक्त एनआरएनए एकीकृत भएको थियो भने सोही एकीकृत एनआरएनएको शनिबारदेखि १२ औँ महाधिवेशन सुरु हुँदैछ । यसैबिच सहमतिको वातावरण बनेसँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिका हेरफेर गरेको छ ।

प्रकाशित : 13 March, 2026 3:30 pm