अमेरिकाबाटै आयो राजीनामा ! किन छाडिन् अध्यक्ष ओमदेवी मल्लले पद ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अमेरिकाबाटै आयो राजीनामा ! किन छाडिन् अध्यक्ष ओमदेवी मल्लले पद ?



काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले पार्टीबाट भएको हस्तक्षेप, निरन्तर दबाब तथा सञ्चालक समितिबाट आएको धम्कीका कारण आफूले पद छोड्न बाध्य भएको बताएकी छन्।

मल्लले फागुन २९ गते हुने महासंघको ३४औँ वार्षिक साधारणसभामा पेश हुने गरी राजीनामा दर्ता गराएकी हुन्। उनले अध्यक्ष पद सम्हालेको समयदेखि नै अपेक्षित सहयोग नपाएको उल्लेख गर्दै विभिन्न निर्णयहरूमा स्वतन्त्र रूपमा काम गर्न नपाएको गुनासो गरेकी छन्।

उनका अनुसार महासंघका बैठक अघि पार्टीको विभागीय नेतृत्वसँग अनिवार्य परामर्श लिनुपर्ने र निर्णयहरू पार्टीको हितअनुसार गर्नुपर्ने दबाब रहँदै आएको थियो। यसका साथै महाप्रबन्धक नियुक्तिदेखि अन्य महत्वपूर्ण प्रशासनिक कामहरूमा पनि स्वतन्त्र रूपमा काम गर्ने वातावरण नबनेको उनले बताइन्।

पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपका कारण आफू मानसिक रूपमा निकै तनावमा परेको मल्लको भनाइ छ। महासंघभित्र विभिन्न राजनीतिक आस्थाका सहकारीकर्मीलाई मिलाएर अघि बढ्ने प्रयास गरे पनि अपेक्षित साथ नपाएको उनले उल्लेख गरेकी छन्।

गत भदौमा परिवार अमेरिका गएपछि केही समय उपचार र आरामका लागि आफू पनि त्यहाँ गएको मल्लले बताएकी छन्। तर त्यहाँ रहँदा पनि महासंघका केही सदस्यहरूले पटक–पटक राजीनामा दिन दबाब दिएको र नदिए अविश्वास प्रस्ताव ल्याउने चेतावनीसमेत दिएको उनले जनाएकी छन्। त्यसपछि आफूले राजीनामा दिने निर्णय गरेको बताएकी छन्।

करीब दुई दशकभन्दा बढी समय सहकारी अभियानमा सक्रिय रहेकी मल्ल सञ्चालक, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेकी थिइन्। अध्यक्ष भएपछि भने आफूले सहयोग गरेकाहरूबाटै असहयोग भोग्नुपरेको उनको भनाइ छ।

उनले आफूलाई कार्यवाहक जिम्मेवारी दिइएको वरिष्ठ उपाध्यक्षले छ महिनादेखि महासंघ सञ्चालन गरिरहेको उल्लेख गर्दै आफ्नो राजीनामा स्वीकृत गरी नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन्।

सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको उनले बताइन्। समस्याको वास्तविक कारण पहिचान गरी समाधान खोज्नुपर्नेमा सबैलाई एउटै दृष्टिले हेर्ने प्रवृत्तिले सहकारी अभियानलाई कमजोर बनाउने उनको भनाइ छ।

मल्ल ३१औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा महासंघको अध्यक्षमा निर्वाचित भएकी थिइन्। आफ्नो कार्यकाल छोटो भए पनि केही सकारात्मक कामको सुरुवात गरेको उनले दाबी गरेकी छन्। सरकारले रोकेको बजेट निरन्तरता दिलाउने, सातै प्रदेशमा गोष्ठी आयोजना गर्ने, सहकारी राष्ट्रिय गीत सार्वजनिक गर्ने, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को तयारी, सहकारी नीति सम्बन्धी संवाद, डिजिटल कन्क्लेभ र रोजगार मेलाजस्ता कार्यक्रम आफ्नो कार्यकालमा अघि बढाइएको उनले उल्लेख गरेकी छन्।

साथै, आफ्नो कार्यकालमा जानाजान वा अनजानेर कसैलाई दुःख पुगेको भए क्षमा माग्दै उनले सहकारी अभियानको सफलताका लागि आगामी नेतृत्वलाई शुभकामना व्यक्त गरेकी छन्।

यस्ताे छ उनकाे राजिनामा पत्र :

राष्ट्रिय सहकारी महासंघ लि. नेपाल
पुल्चोक महानगरपालिका–३
हरिहर भवन पुल्चोक, ललितपुर

मिति : २०८१–११–२९

विषय : राजीनामा सम्बन्धमा ।

प्रस्तुत विषयमा नेपालको सहकारी क्षेत्रमा अभियानका रुपमा स्थापित राष्ट्रिय सहकारी महासंघ लि. नेपालको ३१ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष काम गर्दै गरेको समयमा अचानक विरामी भएर स्वास्थ्य उपचार र पारिवारिक भेटघाटका लागि विगत ६ महिनादेखि म संयुक्त राज्य अमेरिकामा रहेको जानकारी गराउन चाहन्छु ।

गत पुसमा सम्पन्न ३३ औं वार्षिक साधारणसभामा समेत उपस्थित हुन नसकेर शुभकामना सन्देश पठाएको थिएँ । अध्यक्षका रुपमा खेलेको भूमिकाको सहकारी अभियानले मूल्यांकन गर्ने विश्वास लिएको छु ।

अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रुपमा पूर्ण सहयोग प्राप्त भएन । राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक बैठक पूर्व अनिवार्य रुपमा पार्टीको विभागीय प्रमुखसँग सल्लाह लिनुपर्ने, निर्णयहरु पार्टी हित अनुकूल हुनुपर्ने जस्ता दबावका कारण मैले स्वस्फूर्त रुपमा योजना अनुसार काम गर्न सकिन ।

महाप्रबन्धक नियुक्तीदेखि अन्य कार्यालयका महत्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसाबले काम गर्ने वातावरण बनेन । यद्यपि टिमका केही साथीहरुको साथ सहयोग र कर्मचारीहरुको सकारात्मक कार्यशैलीका कारण केही महत्वपूर्ण कामहरु पनि भएका छन् ।

पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा परेँ । महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरेँ तर एउटै पार्टीका साथीहरु रहेको बोर्डमा रहेपनि असहयोगको अवस्था पनि भयो । आफ्नै साथीहरुको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ ।

गत भदौमा परिवार अमेरिका जाने भएपछि केही समयका लागि परिवारसँगै विदेशमा रहँदा उपचारसँगै तनाव पनि कम हुन्छ भन्ने परिवारको सल्लाह अनुसार अमेरिका आएको हुँ । यहाँ आएपछि केही परिवर्तन हुन्छ कि भन्ने लागेको थियो तर पार्टी नेतृत्वको दबावले नै होला महासंघका साथीहरुले पटक पटक राजीनामा पठाउन दबाव दिनुभयो ।

राजीनामा नदिए अविश्वासको प्रस्ताव साधारणसभामा लगेर हटाउने धम्की पनि साथीहरुले दिनुभयो । मैले साधारणसभामा शुभकामना सन्देश पठाएँ । त्यसपछि पनि धेरै दबाव दिएको कारण म राजीनामा दिने निष्कर्षमा पुगेँ ।

काम गर्ने चाहना भएरै दुई दशक भन्दा बढी समय सहकारी अभियानमा लागे, त्यो पनि महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएकी थिएँ । तल हुँदा सबैलाई साथ दिएकी थिएँ, सहयोग गरेकी थिएँ, तर म अध्यक्ष भएपछि मैले सहयोग गरेकाहरुबाट साथ पाइन, उल्टो असहयोग हुने अवस्था सिर्जना भयो ।

राजनीति कति निष्ठुर हुँदो रहेछ भन्ने पनि म सहकारी महासंघको अध्यक्ष भएपछि थाहा पाएँ । स्वार्थ मिलेन भने नेताहरु कति क्रूर हुँदोरहेछन् त्यो पनि बुझ्न पाएँ ।

थाहा छैन महिलाले काम गर्न सक्दैनन् भन्ने लाग्यो कि ? पार्टीमा मैले गुट गर्न सकिन कि उहाँहरुको नजरमा गुट मिलेन कि ? वा पार्टीको सहकारी विभाग र विभागका साथीहरुको कही कतै चित्त दुखाए कि ? म आफैलाई के भयो भन्ने जानकारी छैन ।

कहाँनिर म चुके भन्ने पनि पत्तो छैन, छ त केबल सहकारीमा कुनै योगदान नभएका मान्छेको आदेश, निर्देशन अनि अनाहकको तनाव ।

यो सबै कुरालाई मनन गरी आज सारै विक्षिप्त भएर राष्ट्रिय सहकारी महासंघ लि. नेपालको अध्यक्ष पदबाट राजीनामा पठाएकी छु ।

मैले वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक दिएको ६ महिना पुग्दैछ, त्यो भन्दा पहिला पठाएको यो राजीनामा प्रक्रियागत रुपमा स्वीकृत गरी नयाँ नेतृत्व चयन गर्न सहज होस् भन्ने अनुरोध राष्ट्रिय सहकारी महासंघ लि. नेपाल, यसका सम्पूर्ण शेयर सदस्य संघ संस्थाहरुका प्रतिनिधिहरु, सम्पूर्ण सहकारीकर्मी साथीहरु, नियमनकारी निकाय लगायत सबैमा अनुरोध गर्न चाहन्छु ।

सहकारी क्षेत्रमा काम गर्ने क्रममा मबाट जानेर वा नजानेर कसैको मन दुखेको रहेछ भने त्यसका लागि क्षमा प्रार्थी छु ।

आगामी दिनमा सहकारी अभियान अझ सुदृढ होस् भन्ने कामना गर्दै नयाँ नेतृत्वलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

भवदीया
ओमदेवी मल्ल

अध्यक्ष
राष्ट्रिय सहकारी महासंघ लि. नेपाल

प्रकाशित : 13 March, 2026 12:20 pm