नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई पदभार हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई पदभार हस्तान्तरण



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेका छन्। फागुन २८ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन।

सो अवसरमा चौधरीले उप्रेतीको नेतृत्वमा नाडाको संस्थागत विकास र अटोमोबाइल क्षेत्रको उन्नयनमा थप गति आउने विश्वास व्यक्त गरे। सपथ ग्रहणपछि अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान र मूल्य–मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, अटोमोबाइल व्यवसायीहरूको हित संरक्षण र क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने बताए।

बैठकमा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ (ङ) बमोजिम महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्।

नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको जनाएको छ। साथै अटोमोबाइल क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण र नीतिगत सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित : 12 March, 2026 6:52 pm