काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले जारी पूँजीको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १२ करोड रुपैयाँ बराबरका १२ लाख कित्ता शेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयका लागि आवेदन चैत ११ गतेसम्म खुला रहनेछ भने आवश्यक परे चैत २६ गतेसम्म लम्बिन सक्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी प्लस’ रेटिङ्ग दिएको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदन स्थानीय बासिन्दाले प्रभु बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लगायत तोकिएका शाखाबाट दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।






Comment