श्री स्टील्सले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिक्री प्रबन्धक नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

श्री स्टील्सले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिक्री प्रबन्धक नियुक्त



काठमाडौं । नेपालका औद्योगिक क्षेत्रमा स्थापित नाम बनेको श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाअनुसार नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सर्वसाधारणमा शेयर जारी गर्ने जनाएको छ।

आईपीओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड लाई नियुक्त गरेको छ। यस सम्बन्धमा आज आयोजित एक कार्यक्रममा दुवै कम्पनीबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा श्री स्टील्स लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको थियो। सो अवसरमा श्री स्टील्सका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

श्री स्टील्स लिमिटेड एक पूर्ण स्वचालित प्लान्टका रूपमा सञ्चालनमा रहेको कम्पनी हो, जसले टीएमटी रिबार उत्पादनमा विशेषज्ञता हासिल गरेको छ। कम्पनीका अनुसार, नेपालजस्तो भौगोलिक रूपमा जटिल र भूकम्पीय जोखिम उच्च रहेको देशमा संरचना निर्माण गर्दा उच्च गुणस्तरका र बलिया निर्माण सामग्री अपरिहार्य हुन्छन्।

कम्पनीले टीएमटी रिबार उत्पादनका लागि ‘सिक्स स्ट्यान्ड ब्लक मिल’ प्रविधिमा आधारित अत्याधुनिक जापानी उपकरण प्रयोग गरिरहेको जनाएको छ। कम्पनीका अनुसार, इमान्दारी र निष्ठाका साथ देश निर्माणमा आवश्यक फलाम तथा रडजन्य सामग्रीमा नेपाललाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने आफ्नो मुख्य उद्देश्य रहेको छ। स्वदेशमै गुणस्तरीय उत्पादन विस्तार गर्दै आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने रणनीतिसहित कम्पनीले पूँजी बजारमार्फत सर्वसाधारणलाई समेत स्वामित्वमा सहभागी गराउन लागेको हो।

आईपीओ निष्काशनपछि कम्पनीको पूँजी संरचना थप सुदृढ हुने र उत्पादन क्षमता विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ। नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि निष्काशन प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

प्रकाशित : 1 March, 2026 4:10 pm