लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ विश्व सम्मेलन र निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका दुई मुख्य दाबेदारहरूले देखाएको मानवीय पक्षलाई लिएर बहस सुरु भएको छ। मध्यपूर्वमा विकसित सुरक्षा संकट र युद्धको त्रासका बीच अध्यक्षका प्रत्यासीद्वय डा। हेमराज शर्मा र रोबिन प्रसाद शेरचनले सार्वजनिक गरेका धारणाले उनीहरूको चरित्र र प्राथमिकताबारे बहस सुरु भएको हो।
हालका उपाध्यक्ष डा। हेमराज शर्मा यतिबेला जसरी पनि निर्वाचन गराउने र नेतृत्व हत्याउने रणनीतिमा केन्द्रित देखिएका छन्। ुएनआरएनए संवादु कार्यक्रममा उनले मध्यपूर्वको तनावले आसन्न निर्वाचन प्रभावित नहुने दाबी गरे। मध्यपूर्वमा रहेका करिब २० लाख नेपालीको सुरक्षा र त्यहाँको गम्भीर परिस्थितिलाई नजरअन्दाज गर्दै शर्माले भने, ुनिर्वाचन स्थगित हुने आशंका नगर्नुहोस्, प्रतिनिधिहरूले वैकल्पिक हवाई मार्ग अपनाएर भए पनि नेपाल आउनुपर्छ।ु उनको यो अभिव्यक्तिले संकटमा परेका श्रमिकहरूको पीडाभन्दा पनि उनलाई अध्यक्षको खोक्रो पद प्यारो भएको भन्दै संघभित्रै तीव्र आलोचना सुरु भएको छ ।
शर्माले निर्वाचन सफल पार्न सबैलाई आह्वान गरिरहँदा, उनले मध्यपूर्वमा रहेका नेपालीहरू जो रेमिट्यान्स पठाएर देश र संस्था धानिरहेका छन्, उनीहरूको जीवन रक्षाका बारेमा ठोस योजना ल्याउनुको साटो केवल प्राविधिक र चुनावी जोडघटाउमा समय खर्चिरहेका हुन् । जवकि एनआरएनएमा मध्यपूर्व भोट बैंक हो ।
अर्कातर्फ, अध्यक्षका अर्का प्रत्यासी रोबिन प्रसाद शेरचनले भने यस्तो संकटको घडीमा राजनीतिको साटो मानवीय पक्षलाई प्राथमिकता दिएका छन्।
शेरचनले मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीहरूका लागि एक विशेष र विस्तृत अपिल जारी गर्दै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन्। इरानमा भएको सैन्य हमला र त्यसपछि उब्जिएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शेरचनले नेपालीहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न, साइरनको पालना गर्न, इमर्जेन्सी झोला तयार राख्न र स्थानीय दूतावासको सम्पर्कमा रहन व्यावहारिक सुझाव दिएका छन्।
शेरचनको अपिलमा भनिएको छ, ‘आफ्नो सुरक्षामा सम्झौता नगर्नुहोस्, सतर्क रहनुहोस्।’ निर्वाचनको प्रचार प्रसारमा लाग्नुपर्ने समयमा शेरचनले मध्यपूर्वका नेपालीको ज्यान जोगाउन देखाएको यो तदारुकतालाई धेरैले एक जिम्मेवार र अभिभावकीय नेतृत्वको संज्ञा दिएका छन्।
यसैबीच, एनआरएनएका वर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले पनि संयुक्त विज्ञप्ति जारी गर्दै १९ लाख नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। संघको आधिकारिक लाइन र रोबिन शेरचनको सक्रियता सुरक्षातर्फ केन्द्रित भइरहँदा डा. हेमराज शर्माले भने चुनाव रोकिन्न भन्दै वैकल्पिक बाटोबाट भए पनि मान्छे उतार्न खोज्नुले उनको पद मोह छताछुल्ल भएको टिप्पणी हुन थालेको छ।






Comment