काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालय हेटौंडामा कार्यरत एक अधिकृत र एक लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत छैटौं अमृत भेटुवालले सवारी सरुवा सहमति गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले छापा मारेको थियो।
अनुसन्धानका क्रममा बिचौलियाको भूमिका निर्वाह गरिरहेका लेखापढी व्यवसायी खगेन्द्र पौडेल सेवाग्राहीबाट ११ हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला परेका थिए। उक्त रकम लिएको पुष्टि भएपछि फागुन १२ गते यातायात व्यवस्था कार्यालय, हेटौंडाबाट उनीहरू दुवै जनालाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
नियन्त्रणमा लिँदा उनीहरूबाट तीन थान मोबाइल सेटसमेत बरामद गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।






Comment