काठमाडौं । निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेल आजियटाले चालु आर्थिक वर्ष सन् २०२६ को पहिलो त्रैमासमा ८ अर्ब १८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीका अनुसार यो रकम गत वर्षको सोही अवधिको तुलनामा करिब १.३८ प्रतिशतले बढी हो।
यद्यपि कम्पनीको अघिल्ला वर्षहरुको कुल वार्षिक कारोबार निरन्तर घट्दो क्रममा देखिएको छ। सन् २०२५ मा कम्पनीले ३२ अर्ब ५४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो।
यसअघि सन् २०२४ मा ३४ अर्ब ६ करोड ८० लाख, सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख र सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो।
आम्दानी घट्दै गए पनि कम्पनीको सञ्चालन नाफा मार्जिन भने स्थिर देखिएको छ। सन् २०२५ को पहिलो त्रैमासमा ४८ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आवको सोही अवधिमा बढेर ४९ प्रतिशत पुगेको छ।
आर्थिक वर्ष २०२६ को पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको कुल ऋण–ओपिबिट्डा अनुपात ०.७ गुणा रहेको छ भने ऋण भुक्तानी क्षमता २.९ गुणा रहेको छ। यसले कम्पनीसँग कर्जा सेवा गर्न पर्याप्त नगद प्रवाह रहेको रिपोर्टमा उल्लेख छ ।
कम्पनीसँग करिब १४ अर्ब रुपैयाँ बराबर नगद मौज्दात तथा करिब ६१५ मिलियन रुपैयाँ उपयोग नगरिएको कर्जा सीमा रहेकाले तरलता अवस्था तुलनात्मक रूपमा सहज रहेको देखिन्छ। तर, मध्य अक्टोबर २०२५ सम्म करिब ५ अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च भुक्तानी बाँकी रहेकाले चालु अनुपात ०.७४ गुणामा सीमित भएको छ।
इक्रा नेपालका अनुसार एनसेलको राजस्वको बजार हिस्सामा दबाब देखिएको छ। कम्पनीको जीएसएम राजस्व बजार हिस्सा आर्थिक वर्ष २०२३ मा करिब ५३ प्रतिशत रहेकामा आर्थिक वर्ष २०२५ सम्म घटेर करिब ५१ प्रतिशतमा झरेको छ।
सब्स्क्राइबर आधारमा पनि बजार हिस्सा केही खुम्चिएको छ। उद्योगकै प्रवृत्तिअनुसार भ्वाइस एआरपियु (प्रति ग्राहक औसत आम्दानी) दीर्घकालीन रूपमा घट्दो क्रममा छ। ग्राहकहरू डेटा सेवातर्फ केन्द्रित हुँदै जाँदा भ्वाइस आम्दानीमा गिरावट आएको हो।
यद्यपि डेटा सेवामा ४जी प्रयोग विस्तार हुँदै जाँदा डेटा एआरपियु भने स्थिर रहन सक्ने देखिएको रिपोर्टमा उल्लेख छ। सन् २०२६ को पहिलो त्रैमासमा डेटा एआरपियुमा सामान्य सुधार देखिएको छ ।
कम्पनीसँग रहेको करिब ८६ अर्ब रुपैयाँ बराबर कन्टीजेन्सी दायित्वमध्ये करिब ६७ प्रतिशत सन् २०१६ को स्वामित्व परिवर्तनसँग सम्बन्धित कर दाबी हो। उक्त प्रकरणमा कर, जरिवाना र शुल्क गरी कम्पनीले करिब ४७ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको भए पनि बाँकी दाबी यथावत् छ।
यदि ती दाबीहरूको ठूलो अंश कार्यान्वयन भएमा कम्पनीको वित्तीय अवस्थामा गम्भीर असर पर्न सक्ने आंकलन गरिएको छ। साथै, सन् २०२३ मा भएको अप्रत्यक्ष बहुमत स्वामित्व परिवर्तनका कारण थप कर मूल्याङ्कनको जोखिम पनि बाँकी रहेको जनाइएको छ ।
रिपोर्ट अनुसार कम्पनीले आर्थिक वर्ष २०२४ र २०२५ मा नाफाको करिब ५० प्रतिशत मात्रै लाभांश वितरण गरिएको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा केही कम हो।
यसैबीच, २०२९ सेप्टेम्बर १ मा सकिने २५ वर्षे प्रारम्भिक लाइसेन्स अवधि पछिको नवीकरण अनिश्चित रहनु पनि कम्पनीका लागि प्रमुख जोखिमका रूपमा रहेको रिपोर्टमा औंल्याइएको छ ।
सन् २००१ मा स्थापना भई २००५ देखि ‘मेरो मोबाइल’ ब्रान्डमार्फत सेवा सुरु गरेको कम्पनीमा हाल करिब ८० प्रतिशत स्वामित्व स्प्रेक्टलाइट युकेमार्फत विदेशी लगानीकर्ताको रहेको छ भने बाँकी २० प्रतिशत स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्वमा रहेको छ।
एनसेलले बैंकिङ कर्जा सुविधाका लागि ३२ अर्ब रुपैयाँ बराबरको रेटिङ गराएको छ । जसमा दीर्घकालिन कर्जाका लागि १० अर्ब ६० करोड रुपैयाँ र अल्पकालिन कर्जाका लागि १२ अर्ब रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको हो ।






Comment