काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ८.१६ अंक घटेर २६६२.९१ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३५ कम्पनीको ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स र सालपा गत बिहीबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका कम्पनी हुन्।
त्यस्तै, आज अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य सवैभन्दा बढी बढेको छ। कारोबारमा आएको खानी खोला हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक घटेको छ।
कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज आँखु खोला जलविद्युत कम्पनीको करिब साढे ५२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।






Comment