काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालका अनुसार पुँजी बजारमा कतिपय व्यक्तिले सूचना एकाधिकार पाउँदा सबै लगानीकर्ताले समान अवसरमा निर्णय लिन सकिरहेका छैनन्, जसले बजारमा असन्तुलन सिर्जना गरिरहेको छ।
राष्ट्रिय सूचना आयोग र नेपाल पत्रकार महासङ्घले शुक्रबार आयोजना गरेको ‘मिडियामा सूचनाको हक प्रयोग,अभ्यास र चुनौती’ कार्यक्रममा उनले गलत वा असमान सूचना प्रवाहले बजारमा असन्तुलन उत्पन्न गर्न सक्ने बताएका हुन्। अर्थमन्त्री खनालले अर्थतन्त्र सही ढंगले सञ्चालन हुनका लागि सही सूचना प्रवाह अत्यावश्यक रहेको बताए।
खनालले भने, “पुँजी बजारमा कतिपय व्यक्तिले सूचना एकाधिकार पाएका छन्, जसले केहीलाई लाभ र अरुलाई अवसरबाट वञ्चित बनाइरहेको छ। सही सूचना समयमै सबै लगानीकर्तालाई पुग्नुपर्ने आवश्यक छ।”
उनले धातु बजारमा सुन–चाँदीको मूल्य तथा पुँजी बजारमा व्यापारिक निर्णयको लागि रियल–टाइम सूचना प्राप्ति र ढिला प्राप्ति बीच ठूलो लाभ–नोक्सानीको फरक देखिएको उदाहरण पेश गरे। साथै, सूचना हकसम्बन्धी कानून र लेखामापदण्डले ठूला कम्पनी र घरानाहरूको कारोबार, सामाजिक प्रभाव र सार्वजनिक पार्ने विवरण तोकेको भए पनि व्यवहारमा पत्रकारहरूले पर्याप्त अनुगमन नगरेको उनको टिप्पणी थियो।
मन्त्री खनालले अवाञ्छित गतिविधि रोक्न सूचनाको हक प्रयोगमा सचेत रहनुपर्ने र नागरिकसम्म सही समयमै, सही सूचना पुग्नुपर्ने राज्यको जिम्मेवारी रहेको पनि जोड दिए।
उनका अनुसार, समान अवसरको व्यवस्था विश्वभर भए पनि नेपालमा दलित, जनजाति र पिछडिएका वर्गका लागि रोजगारी, आर्थिक पहुँच र सूचना प्रवाहमा अझै ठूलो सुधारको आवश्यकता छ।






Comment