काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ ।
बिमा गरे बापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।
उनले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए ।
बोर्डले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ ।
यस्तै, थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।
बोर्डले अनावश्यक रूपमा हुने ओपिडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले सोहीअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ ।
सूचना अधिकारी मल्लले भने, “पाँच जनाको परिवारले वर्षभरिमा बढीमा रु दुई हजार ५०० बराबरको बहिरङ्ग सेवा (ओपिडी) सेवा लिन पाउने व्यवस्था छ ।
पाँच जनाभन्दा बढी सदस्य भएका प्रतिसदस्यले थप रु पाँच हजार बराबरको ओपिडी सेवा कायम गरिएको छ ।”






Comment