काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १५.३७ प्रतिशत, कुल आम्दानी ७.०९ प्रतिशत, खुद दाबी भुक्तानी ८.१९ प्रतिशत र कुल खर्च ९.०२ प्रतिशत बढेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ ३० पैसा घटेर ७ रुपैयाँ ११ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १०८.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ८६ पैसा रहेको छ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ, महाविपत्ती कोषमा १ अर्ब ५३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६७ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ।






Comment