कालिन्चोक दर्शनको व्यापार ७ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कालिन्चोक दर्शनको व्यापार ७ प्रतिशतले घट्यो



काठमाडौं । कालिन्चोक दर्शनको व्यापार ७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ७ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा ८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीका अनुसार गत आवमा व्यापार घट्नुको मुख्य कारण हावाहुरी रहेको छ । गत आवमा हावाहुरीका कारण पर्यटकको आगमनमा कमी आउँदा व्यापार घटेको उल्लेख गरिएको छ ।

गत आवमा १ लाख ५३ हजार ७ सय ९७ जना पर्यटकको आगमन भएको कम्पनीले जनाएको छ । कम्पनीले गत आवमा ६५.४८ प्रतिशत नाफा कमाएको छ । त्यस्तै, कम्पनीले चालु आवमा व्यापार बढ्ने अनुमान गरेको छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी व्यापार गरेको छ ।

गत आवमा कम्पनीले ६ महिनाको अवधिमा ३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले ३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, गत आव ५९ हजार ६ सय ४६ जना पर्यटकको आगमन भएको थियो । चालु आवमा ७१ हजार ९ सय ८५ जना पर्यटकले भ्रमण गरेको कम्पनीको भनाइ छ ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले दोलखाको कालिन्चोकमा केबलकारको सेवा दिँदै आएको छ । कम्पनीले एक किलोमिटर दुरीको केबलकारको सुविधा दिँदै आएको हो । केबलकारमा ४ वटा गोन्डोला छन् । जसमा कम्पनीले सोही ४ वटा गोन्डोलाबाट कुरी भ्यालीदेखि कालिन्चोक मन्दिरसम्मको सेवा दिँदै आएको छ । केबलकारले प्रतिघण्टा १ सय ९२ जना यात्रुलाई सेवा दिन सक्ने क्षमताको छ ।

बालकृष्ण शिवाकोटी अध्यक्ष रहेको कम्पनीले केबलकारसँगै होटलको सेवा दिने उद्देश्यसहित होटल निर्माणको योजना अघि बढाएको छ । कम्पनीले ३५ करोड रुपैयाँ लगानीमा ३० वटा कोठाको सुविधाका साथ होटल निर्माण कार्य अगाडि बढाएको हो । हाल होटल निर्माणको कार्य योजनाको क्रममै छ ।

कम्पनीले होटल निर्माणका लागि १ः१ को अनुपातमा राइट सेयर जारी गरी इक्विटीमार्फत लगानी गर्ने योजना बनाएको छ । गत आवको अन्त्यसम्ममा कम्पनीको ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको थियो । जुन बोनस सेयर जारी गरिएका कारण ६० करोड रुपैयाँबाट वृद्धि भएको हो ।

प्रकाशित : 8 February, 2026 3:36 pm