दोस्रो त्रैमाससम्म नागरिक लगानी कोषको आम्दानी र लगानी दुवैमा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दोस्रो त्रैमाससम्म नागरिक लगानी कोषको आम्दानी र लगानी दुवैमा सुधार



काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा आफ्नो खुद नाफामा ६.९१ प्रतिशतको वृद्धि गरेको छ ।

कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिमा ६२ करोड २२ लाख ८६ हजार रुपैयाँ नाफा कमाएकोमा यस वर्षको पुस मसान्तसम्ममा ६६ करोड ५३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो ।

समीक्षा अवधिमा कोषको कुल आम्दानीमा पनि सुधार देखिएको छ । कोषले दोस्रो त्रैमाससम्म १ अर्ब ६ करोड ९३ लाख ४८ हजार रुपैयाँ कुल आम्दानी गरेको छ ।

आम्दानीका मुख्य स्रोतहरूमा सेवा शुल्क तथा कमिसनबाट ८३ करोड ९४ लाख ८८ हजार रुपैयाँ र ब्याज आम्दानीबाट १७ करोड ३६ लाख ४० हजार रुपैयाँ प्राप्त भएको छ। खर्चतर्फ भने कोषले उल्लेख्य नियन्त्रण गर्दै १८ करोड १८ लाख ३० हजार रुपैयाँमा सीमित राखेको छ, जुन गत वर्षको तुलनामा कम हो ।

लगानीको दायरा विस्तार नागरिक लगानी कोषले आफ्नो लगानीलाई विविधीकरण गर्दै कुल २ खर्ब ९८ अर्ब ६७ करोड ८४ लाख ६३ हजार रुपैयाँ परिचालन गरेको छ । कोषको लगानीको ठूलो हिस्सा बैंकको मुद्दती निक्षेपमा १ खर्ब ४५ अर्ब ४० करोड ५५ लाख रुपैयाँ रहेको छ ।
विशेष गरी, कोषले संगठित संस्थाको शेयरमा ३१ अर्ब ६८ करोड ५३ लाख १३ हजार रुपैयाँ लगानी गरेको छ भने सहभागी सापटी तथा आवास कर्जामा ६५ अर्ब २३ करोड ९१ लाख रुपैयाँ परिचालन गरेको छ । यसका साथै सरकारको ऋणपत्रमा १३ अर्ब १२ करोड र ट्रेजरी बिलमा १४ अर्ब १७ करोड रुपैयाँ लगानी रहेको विवरणमा उल्लेख छ ।

वित्तीय सूचकहरूको अवस्था हाल कोषको चुक्ता पुँजी ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ पुगेको छ भने खुद कोष मौज्दात २ खर्ब ९४ अर्ब ६५ करोड ३३ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

कोषको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ, रिटर्न अन अर्निङ ४.४९ प्रतिशत र फण्ड इन्भेष्टमेन्ट रेसियो (आरओइ) ९९.८१ प्रतिशत रहेको छ ।

कोषले व्यवस्थापन खर्चमा १४ करोड २५ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ भने जोखिम व्यवस्थापनका लागि ३ करोड ९२ लाख ९७ हजार रुपैयाँ छुट्याएको छ । समग्रमा, कोषले आफ्नो नाफा र लगानी दुवै क्षेत्रमा सन्तुलित वृद्धि कायम राखेको देखिन्छ ।

प्रकाशित : 8 February, 2026 3:30 pm