रेमिट्यान्समा ३९.१ प्रतिशतको उछाल, छ महिनामा १० खर्ब ६२ अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रेमिट्यान्समा ३९.१ प्रतिशतको उछाल, छ महिनामा १० खर्ब ६२ अर्ब नाघ्यो



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर केवल ४.२ प्रतिशत मात्र थियो।

२०८२ साल पुस महिनामा मात्र १ खर्ब २ अर्ब ६२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३२.३ प्रतिशतले बढेर ७ अर्ब ५० करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा डलरमा रेमिट्यान्स वृद्धि दर २.७ प्रतिशत मात्र रहेको थियो।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीतर्फ हेर्दा, छ महिनामा संस्थागत तथा व्यक्तिगत गरी नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ६ हजार ८०७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७३३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ थियो।

रेमिट्यान्स आप्रवाहमा देखिएको तीव्र वृद्धिले विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणालीको तरलता तथा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 2 February, 2026 5:56 pm