काठमाडौं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको कोटीहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी र ललितपुर महानगरपालिका लगनखेलमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था कर्जा सूचना केन्द्रमा अवद्ध भएका छन् । दुवै संस्थाले आज केन्द्रबाट सदस्यता प्राप्त गरेका हुन् ।
हाम्रो साकोसले CP 00001 र जनउत्थान साकोसले CP00002 प्राप्त गरेको हो । सूचना केन्द्रले माघ ७ गते सूचना जारी गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सदस्यता आव्हान गरेको थियो । दुवै संस्थालाई केन्द्रले सदस्यता प्रदान गरेको आधिकारिक पत्र पठाएको छ ।
अन्य बैंक वित्तीय संस्था तथा सहकारीहरूलाई जस्तै त्यस संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्न केन्द्र सदा तत्पर रहेको जनाएको छ । अनुशासित कारोबार गर्नेलाई स्वागत भन्दै नगर्नेलाई समयमै सुध्रिएर असल मालिक बन्न र ऋण लगेर नतिर्ने मालिकहरुको नाम कालो सूचीमा राख्न र मालिक शेयर सदस्यहरुको कर्जा सूचना प्राप्तगर्न अब कर्जा सूचना केन्द्रको सदस्यता लिएको जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले जनाएका छन् ।
त्यसैगरी हाम्रो साकोसले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जनाए । उनले सहकारी क्षेत्रमा पारदर्शिता, कर्जा अनुशासन तथा जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउने र केन्द्रसँग आबद्ध भएपछि सहकारीको कर्जा सूचना प्रणाली व्यवस्थित हुनुका साथै दोहोरो कर्जा, अस्वस्थ प्रतिस्पर्धा र जोखिम न्युनिकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताए । कर्जा सूचना केन्द्रले सञ्चालनमा ल्याएको सदस्यता संस्था(हरू) दर्ता प्रणालीमार्फत सहकारी संस्थाहरूले अनलाइन माध्यमबाट सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।





Comment