काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकिङ क्षेत्रको वित्तीय स्वास्थ्यमा अझै दबाब देखिएको छ। २० वटै वाणिज्य बैंकहरूले सार्वजनिक गरेका दोस्रो त्रैमासिक वित्तीय विवरणले समग्र बैंकिङ प्रणालीमा खराब कर्जा (एनपीएल) बढ्दो क्रममा रहेको संकेत गरेको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म औसत ४.४९ प्रतिशत रहेको बैंकहरूको खराब कर्जा चालू आवको सोही अवधिमा बढेर ५.०८ प्रतिशत पुगेको छ। यसले एक वर्षको अवधिमा बैंकिङ प्रणालीको समग्र एनपीएल औसत ०.५९ प्रतिशतले वृद्धि भएको देखाउँछ। यद्यपि यही अवधिमा आठवटा बैंकहरूले भने आफ्ना खराब कर्जा घटाउन सफल भएका छन्।
चार बैंकको एनपीएल ७ प्रतिशतभन्दा माथि
सार्वजनिक तथ्यांक अनुसार चार वाणिज्य बैंकको खराब कर्जा ७ प्रतिशतभन्दा माथि पुगेको छ। सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकमा देखिएको छ, जसको एनपीएल ७.९६ प्रतिशत छ। त्यसपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) को ७.९० प्रतिशत, प्रभु बैंकको ७.४९ प्रतिशत र एनआईसी एशिया बैंकको ७.४७ प्रतिशत खराब कर्जा रहेको छ।
६ प्रतिशतभन्दा माथि एनपीएल हुने बैंकमा कुमारी बैंक (६.९२ प्रतिशत), सिटिजन्स बैंक (६.८६ प्रतिशत) र प्राइम कमर्सियल बैंक (६.३८ प्रतिशत) छन्। त्यस्तै लक्ष्मी सनराइज बैंकको ५.५० प्रतिशत, नेपाल बैंकको ५.३४ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.९१ प्रतिशत खराब कर्जा रहेको छ।
कम एनपीएल भएका बैंक पनि छन्
तथ्यांकले केही बैंकको खराब कर्जा तुलनात्मक रूपमा नियन्त्रणमा रहेको पनि देखाएको छ। सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको ०.६८ प्रतिशत रहेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.८८ प्रतिशत, नेपाल एसबिआई बैंकको २.६४ प्रतिशत, सिद्धार्थ बैंकको ३.४५ प्रतिशत र सानिमा बैंकको ३.६३ प्रतिशत एनपीएल छ।
नबिल बैंक र माछापुच्छ्रे बैंकको समान ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.३६ प्रतिशत, कृषि विकास बैंकको ४.६५ प्रतिशत र एनएमबि बैंकको ४.५६ प्रतिशत खराब कर्जा रहेको छ।
आठ बैंकले घटाए, १२ बैंकको एनपीएल बढ्यो
गत आवको पुस मसान्तसँग तुलना गर्दा चालू आवमा आठवटा बैंकले आफ्नो खराब कर्जा घटाउन सफल भएका छन्। सबैभन्दा धेरै सुधार सिद्धार्थ बैंकमा देखिएको छ, जसको एनपीएल १.०५ प्रतिशतले घटेको छ। नेपाल एसबिआई बैंकको ०.९१ प्रतिशत, नबिल बैंकको ०.६८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ०.६० प्रतिशतले खराब कर्जा घटेको छ।
त्यस्तै माछापुच्छ्रे बैंकको ०.२९ प्रतिशत, कृषि विकास बैंकको ०.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ०.१७ प्रतिशत र कुमारी बैंकको ०.०४ प्रतिशतले एनपीएल घटेको छ।
तर बाँकी १२ बैंकमा भने खराब कर्जा बढेको छ। सबैभन्दा धेरै हिमालयन बैंकको २.९८ प्रतिशतले एनपीएल बढेको छ। त्यसपछि प्रभु बैंक (२.८८ प्रतिशत), एनआईसी एशिया बैंक (२.८६ प्रतिशत), एनआईएमबी (२.०४ प्रतिशत) र सिटिजन्स बैंकको २.०१ प्रतिशतले खराब कर्जा वृद्धि भएको छ।
बैंकिङ क्षेत्रमा अझै चुनौती कायमै
समग्र तथ्यांकले अर्थतन्त्रको सुस्तता, कर्जा असुलीमा देखिएको कठिनाइ र व्यवसायिक गतिविधिमा आएको दबाब बैंकहरूको वित्तीय सूचकमा अझै प्रतिबिम्बित भइरहेको देखाउँछ। केही बैंकले जोखिम व्यवस्थापनमार्फत सुधार देखाए पनि समग्र बैंकिङ प्रणालीका लागि खराब कर्जा अझै प्रमुख चुनौतीका रूपमा रहेको स्पष्ट देखिन्छ।





Comment