देशभर विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरि मनाइँदै वसन्त पञ्चमी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

देशभर विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरि मनाइँदै वसन्त पञ्चमी



काठमाडौं । माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी। आज देशभर विद्या, बुद्धि र कलाकी अधिष्ठात्री देवी सरस्वतीको विशेष पूजा–आराधना गरी मनाइँदैछ। वसन्त ऋतुको आगमनको सङ्केत गर्ने यस दिनलाई ‘वसन्त पञ्चमी’ का रूपमा पनि चिनिन्छ।

आजको दिन पुस्तक, कलम र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीक मानेर पूजा गर्ने मौलिक परम्परा छ। विशेषगरी बालबालिकालाई अक्षरारम्भ गराउन र संगीत वा कलाको नयाँ शिक्षा सुरु गर्न आजको दिनलाई सबैभन्दा शुभ मानिन्छ। यसै अवसरमा देशभरका विद्यालयहरूमा उत्सवमय वातावरणमा सरस्वती पूजाको आयोजना गरिएको छ।

सांस्कृतिक परम्परा अनुसार आजै बिहान हनुमानढोका दरबारको नासलचोकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘वसन्त श्रवण’ हुने कार्यक्रम छ। उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहनेछ। उपत्यकाका नील सरस्वती, स्वयम्भू, मैतीदेवी र लेलेस्थित सरस्वती कुण्ड लगायतका मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ।

प्रकाशित : 23 January, 2026 10:22 am