कामना सेवाको नाफामा उछाल, ६ महिनामै कमायो साढे ३९ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

बैंक / वित्त

कामना सेवाको नाफामा उछाल, ६ महिनामै कमायो साढे ३९ करोड



काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जाको चुनौती बढिरहेका बेला कामना सेवा विकास बैंकले भने सुधारको संकेत देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले आफ्नो नाफामा २२ प्रतिशतभन्दा बढीको प्रगति गर्दै वित्तीय सूचकहरूमा सुधार गरेको हो।

सोमबार सार्वजनिक गरिएको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले पुस मसान्तसम्म ३९ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले बढी हो। गत वर्ष बैंकले ३२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको नाफा बढ्नुमा खराब कर्जाको व्यवस्थापन र सञ्चालन नाफामा भएको वृद्धि मुख्य देखिएको छ। गत वर्ष ४.३५ प्रतिशत रहेको खराब कर्जा यो वर्ष घटेर ४.१० प्रतिशतमा झरेको छ। यसैगरी, बैंकको सञ्चालन नाफा ४६ करोड ९१ लाखबाट बढेर ५६ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ। १८.३७ रुपैयाँबाट बढेर अहिले २०.४३ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५८.०७ रुपैयाँ रहेको छ।

बैंकले पुससम्म १ अर्ब २ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.१९ प्रतिशतको वृद्धि हो। बैंकले समीक्षा अवधिमा ६३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

हाल ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। जसले बैंकको आन्तरिक सुरक्षा बलियो रहेको देखाउँछ।

प्रकाशित : 19 January, 2026 2:59 pm