राष्ट्रिय सहकारी बैंकले तोक्यो नयाँ बचत तथा कर्जा ब्याजदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

राष्ट्रिय सहकारी बैंकले तोक्यो नयाँ बचत तथा कर्जा ब्याजदर



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले माघ १ गतेदेखि लागू हुने गरी बचत तथा कर्जाका नयाँ ब्याजदर निर्धारण गरी सार्वजनिक गरेको छ । बैंकले बचततर्फ न्यूनतम ०.१५ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकका अनुसार साधारण तथा विशेष बचत खातामा ०.१५ प्रतिशत ब्याजदर कायम गरिएको छ । यस्तै, सुपर बचत, एनसिबिएल समुन्नत बचत तथा एनसिबिएल प्रिमियम बचत खातामा ०.३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

नयाँ ब्याजदरअनुसार अनिवार्य नियमित बचतमा ३ प्रतिशत र क्रमिक बचत खातामा २.५० प्रतिशतदेखि २.९० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । मुद्दती निक्षेपमा भने न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म ब्याजदर लागू हुने बैंकले जनाएको छ ।

कर्जातर्फ बैंकले न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । कृषि तथा कृषि परियोजना कर्जामा (आवधिक तथा चालुपूँजी) ४.५० प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

व्यवसायिक आवधिक कर्जामा ६.८५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म तथा व्यावसायिक चालुपूँजी कर्जामा ७.५० प्रतिशत ब्याजदर तोकिएको छ । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्जामा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म ब्याजदर लागू हुनेछ ।

यसैगरी लघु तथा गरिबी निवारण कर्जा, हायर पर्चेज कर्जा र पर्यटन प्रवर्द्धन कर्जामा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । साना तथा मझौला उद्यम कर्जामा ६.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

बैंकले तरलता व्यवस्थापन कर्जामा ६.९९ प्रतिशत, महिला सशक्तीकरण कर्जामा ४.९९ प्रतिशत तथा एनसिबिएल सहज कर्जामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । उज्यालो नेपाल कर्जामा ६.९९ प्रतिशत, दिगो सबल सहकारी कर्जामा ७.२५ प्रतिशत र सदस्यसम्बन्धी कर्जामा ४.७५ प्रतिशत ब्याजदर लागू गरिएको छ । मुद्दती निक्षेप कर्जामा भने मुद्दती निक्षेपको ब्याजदरमा थप २ प्रतिशत जोडिनेछ ।

बैंकका अनुसार इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्जाको स्वःलगानी नियमानुसार हुनेछ । साथै अपाङ्गता भएका व्यक्ति, दलित तथा महिलाद्वारा सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५० प्रतिशतसम्म छुट वा थपघट गर्न सकिनेछ । तर, यस्तो सुविधा दोहोरो रूपमा प्रदान गरिने छैन ।

प्रकाशित : 14 January, 2026 6:01 pm