हकप्रद शेयरमा अनियमितता, कर्णाली डेभलपमेन्ट बैंकको पुँजी ९९ प्रतिशतसम्म घटाइयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

हकप्रद शेयरमा अनियमितता, कर्णाली डेभलपमेन्ट बैंकको पुँजी ९९ प्रतिशतसम्म घटाइयो



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले अवैधानिक रूपमा चुक्ता गरिएको शेयर पुँजी खारेज गर्दै पुँजी संरचना घटाएको छ। बैंकका संस्थापक तथा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, राजेन्द्र वीर रायलगायतले हकप्रद शेयर खरिद गर्दा निक्षेपकर्ताको रकम दुरुपयोग गरेको प्रमाणित भएपछि यस्तो निर्णय गरिएको हो।

बैंकले यसअघि मंसिर १ गते सूचना प्रकाशित गरी अवैधानिक रूपमा चुक्ता भएको पूँजी घटाउने प्रक्रिया सुरु गरेको जानकारी दिएको थियो। छानबिनका क्रममा हकप्रद शेयर खरिद गर्दा वास्तविक रूपमा रकम नबुझाई निक्षेपकर्ताको पैसा प्रयोग गरिएको पाइएपछि सम्बन्धित शेयरधनीको शेयर लगत खारेज गरिएको हो।

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेपछि गठन गरिएको व्यवस्थापन समूहले सूचना जारी गर्दै गैरकानुनी रूपमा चुक्ता गरिएको शेयर पुँजी हटाइएको जनाएको छ। यस निर्णयसँगै बैंकको चुक्ता पुँजीमा उल्लेखनीय कटौती भएको छ।

शेयर खारेजपछि बैंकको शेयरधनी संरचनामा ठूलो परिवर्तन आएको छ। संस्थापक समूहका शेयरधनीको नाममा रहेको २१ लाख ३६ हजार ६०.८४ कित्ता शेयर घटेर अब २१ हजार ३६०.६१ कित्तामा सीमित भएको छ। त्यस्तै, सर्वसाधारण समूहअन्तर्गत १२ हजार ८८४ कित्ता शेयर भएका शेयरधनीको स्वामित्व घटेर १२६.८५ कित्ता मात्र कायम गरिएको छ।

यस प्रक्रियामा संस्थापक समूहका २५ जना र सर्वसाधारण समूहका १० जना शेयरधनीको शेयर पुँजी घटाइएको व्यवस्थापन समूहले जनाएको छ। नेपाल राष्ट्र बैंकको २०८१ पुस ११ गतेको निर्णयअनुसार बैंकलाई समस्याग्रस्त घोषणा गरी हाल यसको व्यवस्थापन र सञ्चालन राष्ट्र बैंकबाट नियुक्त टोलीमार्फत भइरहेको छ।

सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्दा बैंकको चुक्ता पुँजी क्षय भएको, दायित्वले सम्पत्ति नखाम्ने अवस्था सिर्जना भएको तथा केही शेयरधनीले अवैधानिक रूपमा शेयर पुँजी चुक्ता गरेको पुष्टि भएपछि पुनर्संरचना प्रक्रिया अघि बढाइएको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ङ. र दफा ८६ ज. बमोजिम सम्बन्धित शेयरधनीको शेयर पुँजी घटाई १ प्रतिशत मात्र कायम गरिएको व्यवस्थापन समूहले स्पष्ट पारेको छ।

प्रकाशित : 2 January, 2026 12:15 pm