काठमाडौं। हालैको जेन–जी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३१६ वटा बीमा दाबीमध्ये हालसम्म करिब रु. ५ अर्ब ४८ करोड २५ लाख रकम बीमितहरूलाई भुक्तानी गरिएको छ। बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार कूल दाबी रकम करिब रु. २३ अर्ब ४७ करोड रहेको छ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त विवरणअनुसार, सबैभन्दा बढी दाबी सम्पत्ति बीमातर्फ परेको छ। यसअन्तर्गत ७१२ वटा दाबीमार्फत करिब रु. १९ अर्ब ५ करोड दाबी रकममध्ये हालसम्म रु. ३ अर्ब ९३ करोड ५९ लाख भुक्तानी गरिएको छ।
त्यसैगरी, मोटर बीमातर्फ २ हजार ३२१ वटा दाबीमार्फत करिब रु. ३ अर्ब ४६ करोड १६ लाख दाबी रकममध्ये रु. १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ। अन्य बीमा क्षेत्रतर्फ हेर्दा इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत २२६ वटा दाबीको करिब रु. ५५ करोड ३९ लाख मध्ये रु. ८ करोड ३६ लाख भुक्तानी भएको छ । त्यसैगरी, परिवहन बीमा अन्तर्गत १२ वटा दाबीको रु. १ करोड ६९ लाख मध्ये रु. १ करोड ५५ लाख र अन्य बीमा अन्तर्गत ४५ वटा दाबीको करिब रु. ३८ करोड ४० लाख मध्ये रु. ५ करोड अग्रिम भुक्तानीसहित भुक्तानी गरिएको छ।
यसैबीच, जेन–जी आन्दोलनसम्बन्धी बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब रु. ३ अर्ब २ करोड (अग्रिम भुक्तानीसहित) पुनर्बीमा दाबी भुक्तानी गरेको जनाएको छ। नेपाल पुनर्बीमा कम्पनीका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीबाट कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबी परेको छ, जसको कूल पुनर्बीमा दाबी रकम करिब रु. १६ अर्ब ६२ करोड ६६ लाख रहेको छ।






Comment