काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भारि अंकले वृद्धि भएर बन्द भएको छ । यसअघिका अन्तिम दुई कारोबार दिन सामान्य सुधार देखिएको बजार यस दिन भने उच्च अंकको वृद्धिसहित बन्द भएको हो ।
आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अंक, फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ८९ हजार २५१ पटकको कारोबारमार्फत ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ ।
आज मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशतले बढेको छ । त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशत र अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । यद्यपि, कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर यस दिन शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब २४ करोड ५० लाख रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ । विकास बैंक र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।






Comment