काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम ‘नेपाल पे’ को कमर्शियल रोलआउट सुरु गरेको छ । यससँगै अब नेपाल पे कार्ड नेपालभित्र मात्र नभई विदेशमा समेत प्रयोग गर्न सकिने भएको छ ।
नेशनल पेमेन्ट स्विच परियोजनाअन्तर्गत नेशनल कार्ड स्विच र नेपाल पे कार्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइएको एनसीएचएलले जनाएको छ । यस प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपालभरिका एटीएम र पीओएस टर्मिनलमा मात्र नभई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिनेछ ।
डिस्कभर नेटवर्कसँगको सहकार्यपछि नेपाल पे कार्ड प्रयोगकर्ताले डिस्कभर नेटवर्क र यसको अन्तर्राष्ट्रिय नेटवर्क एलायन्समार्फत विश्वका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा कार्ड प्रयोग गर्न सक्नेछन् । साथै, नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्समार्फत आबद्ध विश्वभरका करिब ३७८ मिलियन कार्डबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले नेशनल कार्ड स्विच (एनसीएस) र नेपाल पे कार्डको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् । एनसीएस प्रणालीमा कार्ड कारोबारको अन्तरआवद्धता, राउटिङ, सेटलमेन्ट, डिस्प्युट ह्यान्डलिङ तथा एकीकृत रिपोर्टिङ जस्ता सुविधाहरू उपलब्ध छन् ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले नेशनल पेमेन्ट स्विच र नेपाल पे कार्डको रोलआउटले नेपालको डिजिटल भुक्तानी यात्रामा महत्वपूर्ण परिवर्तन ल्याउने बताए । उनले डिस्कभर नेटवर्कसँगको साझेदारीले अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र भरपर्दो भुक्तानी सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउने उल्लेख गरे ।
त्यस्तै, डिस्कभर नेटवर्कका इन्टरनेशनल मार्केट्सका भाइस प्रेसिडेन्ट शुभ्रजित बसुले नेपाल पेसँगको रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रमा सेवाको विस्तारमा सहयोग पुग्ने बताए।
नेपाल राष्ट्र बैंकको नेतृत्व तथा मार्गनिर्देशनमा २०६५ सालमा स्थापना भएको एनसीएचएलले हाल देशका करिब ७५ प्रतिशत नन–क्यास भुक्तानी कारोबार फछ्र्यौट गर्दै आएको छ । एनसीएचएलले विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै डिजिटल अर्थतन्त्रको विकासमा योगदान दिँदै आएको छ ।






Comment