काठमाडौं । एन.पि.आई. नारायणी सामुदायिक अस्पताल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली तथा धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी निर्देशिकाअनुसार निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सार्वजनिक निष्काशन प्रक्रिया अघि बढाउने जनाएको छ।
उक्त शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई प्रदान गरिएको छ। यस सम्बन्धमा आज दुवै संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।
हाल ३ अर्ब ५० करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने निर्णय गरेको छ भने बाँकी ८० प्रतिशत शेयर संस्थापक समूहकै स्वामित्वमा रहनेछ।
कम्पनीका सञ्चालक चुडामणी खनालका अनुसार सेवा विस्तारका लागि निर्माणको अन्तिम चरणमा रहेको ४०० शैयाको जनरल तथा क्यान्सर अस्पताल सञ्चालनका लागि थप पूँजी आवश्यक परेकाले कम्पनी सार्वजनिक निष्काशनमा जान लागेको हो।
वि.सं. २०६३ मा स्थापना भएको एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले हाल अस्पताल सेवा तथा विभिन्न शैक्षिक कार्यक्रमहरू प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार हाल यसको वार्षिक कारोबार १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरू कार्यरत छन्।
सम्झौतामा एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडका तर्फबाट सञ्चालक चुडामणी खनाल र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए। हस्ताक्षर समारोहमा कम्पनीका सञ्चालकहरू विष्णु कुँवर र निरज कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो।







Comment