नेपालको सहकारी आन्दोलनलाई थप सुदृढ, पारदर्शी र व्यवसायिक बनाउने दिशामा एक महत्वपूर्ण उपलब्धि हासिल भएको छ। देशका सात वटा बचत तथा ऋण सहकारी संस्थाले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम अन्तर्गतको ‘प्रोबेसन’ ब्राण्ड प्राप्त गर्न सफल भएका छन्। यो ब्राण्ड सहकारी संस्थाको सुशासन, वित्तीय अनुशासन, सदस्य सेवा र व्यवस्थापकीय क्षमताको मापन गर्ने एक महत्वपूर्ण सूचकका रूपमा लिइन्छ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून) ले सञ्चालन गर्दै आएको बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रोबेसन ब्राण्ड प्राप्त गर्ने संस्थाहरूको सूची सार्वजनिक गरेको हो।
यस वर्ष प्रोबेसन ब्राण्ड प्राप्त गर्ने संस्थाहरूमा ग्रामीण साकोस सल्यान, ज्ञानज्योती महिला उत्थान साकोस काठमाडौं, जनसेवा साकोस कास्की, लोककल्याणकारी साकोस चितवन, स्वस्तिक साकोस सर्लाही, ठेचो महिला जागरण साकोस ललितपुर र विजय फुलबारी साकोस प्युठान रहेका छन्। भौगोलिक विविधता बोकेका यी संस्थाहरूले सहकारी सञ्चालनमा अपनाएको अनुशासन र सुधारमुखी अभ्यासले अन्य सहकारीहरूका लागि पनि उदाहरण प्रस्तुत गरेको छ।
नेफ्सकूनको ३४औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा प्रोबेसन ब्राण्ड प्राप्त गर्ने संस्थाहरूलाई औपचारिक रूपमा प्लेग प्रदान गरिएको थियो। सो अवसरमा नेफ्सकूनका पदाधिकारीहरूले प्रोबेसन ब्राण्ड केवल सम्मान मात्र नभई सहकारी संस्थालाई थप उत्तरदायी, व्यवसायिक र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धताको प्रतीक भएको बताएका थिए।
सहकारी क्षेत्रमा बढ्दो चुनौती र विश्वासको संकटबीच प्रोबेसन जस्ता स्तरीकरण कार्यक्रमले संस्थागत सुशासनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेफ्सकूनले यस्तो ब्राण्डिङ प्रक्रियामार्फत सहकारी संस्थाहरूलाई दीर्घकालीन रूपमा दिगो र विश्वसनीय बनाउने लक्ष्य लिएको स्पष्ट देखिन्छ।





Comment