सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन खुल्ला

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई आज (पुस ४ गते) देखि सार्वजनिक निष्काशन तथा बिक्री खुला गर्दैछ।

सिटिजन्स क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याउन लागेको हो। जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबर्द्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। निष्काशन बन्द छिटोमा पुस ८ गते हुनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा पुस १८ गतेसम्म निष्काशन अवधि लम्बिन सक्छ।

१० वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

इकाई निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस दिएको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।

यस योजनाले बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत संगठित संस्थाको धितोपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रहरुमा लगानी गर्न सक्नेछ।

प्रकाशित : ४ पुस २०८२, शुक्रबार ११:४१ 19 December, 2025 11:41 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।