एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी अनलाइन पोर्टलमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी अनलाइन पोर्टलमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

एनआईसी एशिया बैंक लिमिटेडले बैंकको नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरिसकेको उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण एकै स्थानमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएका सूचनामा समावेश क्युआर कोड स्क्यान गरी वा सोझै अनलाइन पोर्टलमार्फत प्रवेश गरेर ग्राहकले सम्पत्तिको विस्तृत विवरण प्राप्त गर्न सक्नेछन् । पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको अवस्थिति पहिचान गर्न गुगल म्यापसमेत उपलब्ध गराइएको छ ।

लिलाम बिक्रीमा राखिएको कुनै पनि सम्पत्तिको बारेमा थप जानकारी लिन चाहने इच्छुक ग्राहकका लागि पोर्टलमै म्यासेज बक्सको व्यवस्था गरिएको छ । सो म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सोझै बैंकलाई जानकारी पठाउन सकिने बैंकले जनाएको छ । यसले सम्भावित खरिदकर्तालाई थप स्पष्टता प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विवरण नियमित रूपमा अद्यावधिक गरिनेछ । साथै, लिलाम बिक्रीसम्बन्धी अन्य सूचना र घोषणाहरू पनि सोही पोर्टलमार्फत प्रकाशित गरिने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले अनलाइन प्रणालीमार्फत पारदर्शी, सहज र पहुँचयोग्य सूचना प्रवाह गर्दै लिलाम प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास लिएको छ । खरिदमा इच्छुक ग्राहकहरूले पोर्टलमार्फत सम्पत्तिसम्बन्धी विस्तृत जानकारी लिएर लाभ लिन सक्ने बैंकको भनाइ छ ।

प्रकाशित : ३ पुस २०८२, बिहिबार १८:१७ 18 December, 2025 6:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।