एनआईसी एशिया बैंक लिमिटेडले बैंकको नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरिसकेको उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण एकै स्थानमा हेर्न सकिने व्यवस्था गरिएको छ ।
बैंकका अनुसार लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएका सूचनामा समावेश क्युआर कोड स्क्यान गरी वा सोझै अनलाइन पोर्टलमार्फत प्रवेश गरेर ग्राहकले सम्पत्तिको विस्तृत विवरण प्राप्त गर्न सक्नेछन् । पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको अवस्थिति पहिचान गर्न गुगल म्यापसमेत उपलब्ध गराइएको छ ।
लिलाम बिक्रीमा राखिएको कुनै पनि सम्पत्तिको बारेमा थप जानकारी लिन चाहने इच्छुक ग्राहकका लागि पोर्टलमै म्यासेज बक्सको व्यवस्था गरिएको छ । सो म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सोझै बैंकलाई जानकारी पठाउन सकिने बैंकले जनाएको छ । यसले सम्भावित खरिदकर्तालाई थप स्पष्टता प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विवरण नियमित रूपमा अद्यावधिक गरिनेछ । साथै, लिलाम बिक्रीसम्बन्धी अन्य सूचना र घोषणाहरू पनि सोही पोर्टलमार्फत प्रकाशित गरिने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकले अनलाइन प्रणालीमार्फत पारदर्शी, सहज र पहुँचयोग्य सूचना प्रवाह गर्दै लिलाम प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास लिएको छ । खरिदमा इच्छुक ग्राहकहरूले पोर्टलमार्फत सम्पत्तिसम्बन्धी विस्तृत जानकारी लिएर लाभ लिन सक्ने बैंकको भनाइ छ ।





Comment