सहकारी क्षेत्रलाई पुनःपरिभाषित गर्ने गोष्ठी—नेफ्स्कूनले गर्दैछ ऐतिहासिक पहल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी क्षेत्रलाई पुनःपरिभाषित गर्ने गोष्ठी—नेफ्स्कूनले गर्दैछ ऐतिहासिक पहल



काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)ले आगामी पौष ३ र ४ गते ‘साकोस शिखर गोष्ठी–२०८२’ आयोजना गर्ने भएको छ। ‘सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ भन्ने मूल नारासहित पाँचौँ शिखर गोष्ठी गर्न लागिएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले जानकारी दिए।

उनका अनुसार नेपालको साकोस अभियानको निरन्तर विकास, नियामकीय अनुकूलन तथा समसामयिक चुनौतीका विषयमा केन्द्रित भई गोष्ठी सञ्चालन गरिनेछ। स्वदेशी–विदेशी विज्ञहरूको मार्गदर्शन, अनुभव र ज्ञान आदान–प्रदानमार्फत सहकारी क्षेत्रको क्षमता वृद्धि हुनेछ भन्ने विश्वास नेफ्स्कूनले लिएको छ। संघले वि.सं. २०६८ सालदेखि प्रत्येक तीन वर्षमा यस प्रकारको शिखर गोष्ठी आयोजना गर्दै आएको छ।

ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा हुने गोष्ठी सकिएलगत्तै पौष ४ गते नेफ्स्कूनको ३४औं वार्षिक साधारण सभा पनि हुने छ। कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा सहकारी क्षेत्रका सरोकारवालाको सहभागीता रहने सीईओ सापकोटाले बताए।

उनका अनुसार गोष्ठीको उद्देश्य विश्वव्यापी साकोस अभ्यासबाट सिकाइ लिएर आवश्यक प्रविधि, ज्ञान र सीप अपनाउने वातावरण बनाउनु, जोखिम सुपरिवेक्षणका सफल अभ्यासहरू साझा गर्नु तथा साकोस सञ्जालको रणनीतिक उन्नयन र नियामकीय अनुकूलन सुनिश्चित गर्नु रहेको छ। सहकारी मूल्य, सिद्धान्त र साकोस दर्शनमा आधारित स्वनियमन प्रणाली निर्माण तथा सशक्त सञ्जाल विकास गोष्ठीबाट अपेक्षित उपलब्धिहरू हुने नेफ्स्कूनको विश्वास छ।

गोष्ठीमा ६ विषयमा सामूहिक छलफल हुनेछ, जसमा नियामकीय मार्गचित्र, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था, cooperative leadership transformation, स्वनियमन अभ्यास र यसको विश्वव्यापी सम्भावना, वित्तीय सहकारी सञ्चालन मानकीकरण, र स्रोत परिचालनको वर्तमान प्रवृत्ति तथा भविष्य दिशा प्रमुख छन्।

गोष्ठीमा सहभागी हुन मंसिर २० गतेभित्र दर्ता गर्नेका लागि ६ हजार रुपैयाँ (छुट मूल्य), त्यसपछि नियमित शुल्क ७ हजार, र गैर–सदस्यका लागि ८ हजार रुपैयाँ तोकिएको नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए। देशभरबाट ७०० भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ। दर्ता अनलाइन फाराममार्फत गर्न सकिने नेफ्स्कूनले जनाएको छ।

प्रकाशित : 29 November, 2025 8:13 am