डिजिटल अधिकार सुरक्षा सुनिश्चित गर्न क्यान–डिशहोमको संयुक्त कडाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिजिटल अधिकार सुरक्षा सुनिश्चित गर्न क्यान–डिशहोमको संयुक्त कडाइ



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले यही मंसिर १ गतेबाट सुरुभएको नेपाल प्रिमियर लिग (एनपीएल)को ओभर द टप (ओटीटी) प्रसारण ‘चोरी भएको’ आशयमा कठोर शब्द प्रयोग गरेर विज्ञप्ती जारी गरेको छ ।

क्यानले आइतबार विज्ञप्ती जारी गर्दै नेपाल प्रिमियर लिगको भारत बाहेक अन्य देशहरुमा ओटीटी प्रसारण सम्बन्धी सम्पूर्ण अधिकार डिश मिडिया नेटवर्क लिमिटेडसँग रहेको छ जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘डिशहोमको ‘डिसहोम गो’ नामक एप डाउनलोड गरि नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलहरु सोहि एप मार्फत हेर्न सकिने जानकारी गराउन चाहन्छौ ।’

एनपीएलको अन्तर्गतका सम्पूर्ण खेलहरुको डिजिटल प्रसारण अधिकार डिशहोमलाई प्रदान गरिएको भए पनि अन्य डिजिटल प्लेटफर्म तथा युट्युब, फेसबूक, टिकटक, इन्स्टाग्राम, ट्वीटर, टेलिग्रामजस्ता सामाजिक संजालहरु र अन्य वेवसाइट तथा एपबाट प्रसारण गर्नु ‘अनुचित तथा अनधिकृत भएको’ विज्ञप्तीमा भनिएको छ ।

डिस मिडिया र क्यानले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ– ‘उक्त कार्य गर्न/गराउन मनाही छ । अधिकार प्राप्त डिशहोम बाहेक नेपाल प्रिमियर लिग अन्तर्गतका सम्पूर्ण खेलसंग सम्बन्धित सामग्रीहरुको अनधिकृत बिक्रि वितरण, पुन:प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने/गराउने कार्य गैरकानूनी रहेको हुँदा दण्डनीय छ ।’

सम्पूर्ण दर्शक, विज्ञापनदाता तथा मिडिया साझेदार तथा सरोकारवालाहरुलाई तोकिएका आधिकारिक प्लेटफर्मलगायत अन्य च्यानलहरुबाट मात्र नेपाल प्रिमियर लिग अन्तर्गतका क्रिकेट खेलहरु हेर्नको लागि विज्ञप्तीमा अनुरोध गरिएको छ ।

साथै, अनधिकृत लिंक, साइट तथा माध्यमहरुबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साईबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य गर्न तथा सो को प्रचार/प्रसार नगर्न/नगराउन पनि सबै व्यक्ति, संस्था तथा सरोकारवालाहरुलाई आयोजकले अनुरोध गरेको छ ।

यस्तै, नेपाल प्रिमियर लिगका कुनै पनि खेलहरु अनधिकृत रुपमा प्रसारण भएको सूचना प्राप्त भएमा क्यान वा डिशहोमलाई यथाशीघ्र जानकारी गराउन आह्वान पनि गरिएको छ । ‘त्यस्ता अनधिकृत कार्यहरु गैरकानूनी भएकोले प्रचलित कानून बमोजिम कारबाही हुने अवगत गराउँदछौ’, विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : 23 November, 2025 5:12 pm