साउनदेखि आइपीओमा कम्तीमा १० कित्ता सबैलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साउनदेखि आइपीओमा कम्तीमा १० कित्ता सबैलाई



काठमाडौं, १५  जेठ । आगामी नयाँ आर्थिक वर्षदेखि सेयर आवेदन दिएका कुनै पनि लगानीकर्ताको हात खाली नहुने भएको छ । पुँजी बजार नियामक धितोपत्र बोर्डले लगानीकर्ताको सहभागिता बढाउने उदेश्यले प्रत्येक आवेदकलाई कम्तीमा पनि १० कित्ता सेयर दिनुपर्ने र सम्भव भएसम्म आवेदन संख्याका आधारमा फेरि अर्को १० कित्ता थप गर्नुपर्ने प्रावधान गरेको छ । धितोपत्र बोर्डले पुँजी बजारमा संरचनात्मक सुधार गर्ने धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ मा यस्तो व्यवस्था गरेको हो । यस अघि धितोपत्र बोर्डले साउन १ गतेबाट आस्वा अनिवार्य गर्न निर्देशन दिइसकेको छ । आस्वा अनिवार्य भएसँगै आवेदकले कम्तीमा १० कित्ता सेयर पाउनेछन् । नयाँ व्यवस्थासँगै साना लागनीकर्तालाई निकै फाइदा हुने भएको छ । तर आवेदन अत्याधिक परेर १० कित्ता दिन पनि भाग नपुग्ने भएमा चाहिँ फेरि गोलाप्रथा प्रणालीमा सेयर बाँडफाँट गरिनेछ ।
धितोपत्र बोर्डंका सहायक प्रवक्ता निरञ्जय घिमिरेले सबै आवेदकलाई कम्तीमा १० कित्ता सेयर दिइने तर आवेदक अत्याधिक धेरै भएर नपाउने अवस्था आएमा भने फेरि गोलाप्रथा गर्नुपर्ने अवस्था आउन सक्छ । तर सानालाई सेयर दिइने भएकाले प्रायः सबैले पाउने सम्भावना अधिक हुने उनले बताए ।

अब सेयर भरेका साना लगानीकर्ता भाग्यमा भर पर्नुपर्दैन । यसअघि मागको तुलनामा निकै बढी सेयर आवेदन पर्ने गरेकाले गोलाप्रथामा भर पर्नु पर्ने अवस्था थियो । हाल ४० प्रतिशत सेयर साना लगानीकर्ता र ६० प्रतिशत सेयर ठूला लगानीकर्ताका लागि वितरण गर्ने व्यवस्था छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार यो व्यवस्थाले बाँडफाँटमा व्यावहारिक नदेखिएकाले नयाँ नियम ल्याउनु परेको हो । यस्तै, निर्देशिकाले संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत जारी गरेको सेयर खरिदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिनसक्ने व्यवस्था गरेको छ । पूरा बिक्री नभएको अवस्थामा मात्र अन्यले दरखास्त दिन पाउनेछन् ।

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार ०५:५०