हिमालयन इनर्जीको आईपीओ व्यवस्थापन सिटिजन्स क्यापिटलले गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन इनर्जीको आईपीओ व्यवस्थापन सिटिजन्स क्यापिटलले गर्ने



काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ। डिल्लीबजारमा आयोजित कार्यक्रममा दुवै कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सम्झौतामा हस्ताक्षर गरेका छन्। हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको साधारण शेयर सार्वजनिक निष्काशन प्रक्रियामा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ। कम्पनीले हाल निर्माण गरिरहेको ‘कालिन्चोक जलविद्युत आयोजना’ मुख्य परियोजनाका रूपमा IPO निष्काशनको प्रमुख आधार बन्नेछ।

दोलखा जिल्ला, कालिन्चोक गाउँपालिका–१ स्थित थामी गाउँमा निर्माण भइरहेको कालिन्चोक जलविद्युत परियोजनाको क्षमता ३ मेगावाट रहेको छ। परियोजना निर्माण तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समयमै राष्ट्रिय विद्युत प्रणालीमा जडान गर्ने लक्ष्य कम्पनीले जनाएको छ।

हिमालयन इनर्जी लिमिटेडको २०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोड ९५ लाख रुपैयाँ पुर्‍याउने निर्णयसँगै, कुल चुक्ता पूँजीमध्येबाट २० लाख ५९ हजार १०० कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव पारित गरेको थियो। यस प्रक्रिया व्यवस्थापन तथा अगाडि बढाउने जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई प्रदान गरिएको हो।

कम्पनीले कालिन्चोक आयोजनाबाहेक आगामी दिनमा थप ऊर्जा आयोजना र पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति पनि सार्वजनिक गरेको छ। स्वच्छ ऊर्जा उत्पादन, पूर्वाधार विकास, दिगो लगानी र राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने कम्पनीको उद्देश्य रहेको छ।

हिमालयन इनर्जीका अनुसार समयमै परियोजना सम्पन्न गरी उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तथा ऊर्जा क्षेत्रको दीर्घकालीन विकासमा सक्रिय भूमिका खेल्ने लक्ष्य सुदृढ गरिएको छ।

प्रकाशित : 18 November, 2025 11:59 am