डिजिटल प्रतिस्पर्धामा थिचियो टेलिकम : नाफा घट्दै, चुनौती बढ्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

डिजिटल प्रतिस्पर्धामा थिचियो टेलिकम : नाफा घट्दै, चुनौती बढ्दै



काठमाडौ । नेपाल टेलिकम (एनटीसी) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा, आम्दानी र वित्तीय सूचकांकमा उल्लेख्य गिरावट आएको छ।

कम्पनीले समीक्षा अवधिमा रु. १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिमा रहेको रु. १ अर्ब ७३ करोड ९५ लाखभन्दा २३.८२ प्रतिशतले कम हो।
कुल आम्दानी पनि ५.८९ प्रतिशतले घटेर रु. ९ अर्ब ४७ करोड १० लाखमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा कुल आम्दानी रु. १० अर्ब ६ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको रिजर्भ फण्ड ७३ अर्ब ३ करोड रुपैयाँमा पुगेको छ, जसमा १.८५ प्रतिशत कमी देखिएको छ। चालु सम्पत्ति ५० अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने चालु दायित्व २१ अर्ब ७८ करोड रुपैयाँ रहेको उल्लेख छ।

नाफा घटेसँगै प्रमुख सूचकांकहरूमा पनि दबाब परेको छ। प्रतिसेयर आम्दानी (EPS) रु. ३८.६६ बाट घटेर रु. २९.४५ मा झरेको छ, जुन दोहोरो अंकको गिरावट हो। प्रतिसेयर नेटवर्थ रु. ५०५.७५ रहेको छ भने प्रतिसेयर सम्पत्ति मूल्य रु. ७०२.०४ कायम छ।

तरलता अनुपात २.३३ कायम भएको छ भने पीई अनुपात २८.७२ गुणामा उक्लिएको छ। यसले नाफा घटे पनि सेयर मूल्य तुलनात्मक रूपमा उकालो रहेको संकेत गर्छ।

कम्पनीले नाफा घट्नुका प्रमुख कारणका रूपमा OTT सेवाहरूको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आम्दानीमा कमी, बजार ब्याजदर घट्दा ब्याज आम्दानीमा ह्रास, कर्मचारी खर्च वृद्धि र दुर्गम क्षेत्रमा सेवा विस्तारमा बढेको लागतलाई उल्लेख गरेको छ।

प्रकाशित : 17 November, 2025 10:24 am