सूर्यज्योति लाइफले पहिलो त्रैमासमा १२ करोड ८० लाख नाफा कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्यज्योति लाइफले पहिलो त्रैमासमा १२ करोड ८० लाख नाफा कमायो



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ११ करोड ५३ लाख रुपैयाँ थियो ।

कम्पनीको ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । अघिल्लो आवमा २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ ।

त्यसैगरी, कम्पनीको दाबी भुक्तानी पनि केही बढेको छ । अघिल्लो आवमा २ अर्ब ८४ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कम्पनीले चालु आवको सोही अवधिसम्म ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३ अर्ब ३६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने कुल आम्दानी ३ अर्ब ५२ करोड रुपैयाँबाट वृद्धि भई ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

रिटेन्ड अर्निङ्स (सञ्चित नाफा) पनि वृद्धि भएको कम्पनीले जनाएको छ । अघिल्लो आवमा ९३ करोड ३८ लाख रुपैयाँ रहेको यो रकम बढेर हाल १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, महाविपत्ती कोषमा ४२ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा कम्पनीले ६८ करोड १६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ र ६७ हजार १७२ वटा नयाँ बीमा पोलिसी जारी गरेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३४.४२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति मूल्य १०३५.६७ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : 11 November, 2025 12:38 pm