गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक समीक्षा बैठक सम्पन्न गरेको छ। बैठकमा त्रैमासिक अवधिभरका गतिविधिको मूल्याङ्कन गर्दै आगामी कार्ययोजना र लक्ष्यलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो।

संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कालिदास गौडेल र सचिव गोविन्द कंडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। बैठकमा प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले संस्थाको हालको अवस्था, रणनीतिक दिशा तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गरेका थिए।
विभागीय, क्षेत्रीय र सेवा केन्द्र प्रमुखहरूले आफ्ना क्षेत्रका उपलब्धी, चुनौती, सम्भावना र आगामी योजनाका बारेमा विस्तृत प्रस्तुति दिए। सहभागीहरूले सहकारीलाई थप सुदृढ, पारदर्शी र आर्थिक रूपमा सबल बनाउन सुझावहरू पनि दिएका थिए।
संस्थाका अनुसार पहिलो त्रैमासिकमा समग्र रूपमा करिब २७ प्रतिशत लक्ष्य उपलब्धी हासिल गरिएको छ। वित्तीय प्रदर्शनको आधारमा कावासोती सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्र घोषित गरिएको छ भने 6S मूल्यांकन (6S Assessment) मा अरुणखोला सेवा केन्द्र उत्कृष्ट बन्न सफल भएको छ।
संस्थाले उत्कृष्टता हासिल गर्ने दुबै सेवा केन्द्रका कर्मचारी, पदाधिकारी र सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेको छ। बैठकले सहकारीको आगामी रणनीति, सेवा सुधार र संगठनात्मक सुदृढीकरणका लागि नयाँ दिशानिर्देश प्रदान गरेको संस्थाले जनाएको छ।





Comment