काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकमा आगामी महाधिवेशनबारे विशेष छलफल हुने तयारी गरिएको छ।
बैठकमा पार्टीले अब निर्वाचनमा जाने कि संसद् पुनःस्थापनाको पक्षमा उभिने भन्ने विषयमा समेत निर्णय गर्ने बताइएको छ। दशैँपछि सुरु भएको बैठक तिहार र छठ पर्वका कारण स्थगित हुँदै आजका लागि सारिएको हो।
बैठकमा नेताहरूबीच महाधिवेशनबारे दुई धारणा रहेका छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर समूहले गत महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित नियमित महाधिवेशनको माग राखेका छन्। तर संस्थापन पक्षधर नेताहरूले भने म्याद सकिएका प्रतिनिधिहरूको हस्ताक्षरको कुनै अर्थ नरहेको तर्क गर्दै आएका छन्।
यसबीच, पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि विदेशमा रहेका छन्। उहाँको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्। सभापति देउवा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि स्वास्थ्य उपचारका लागि विदेश गएका हुन्।





Comment