काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा संस्थाको कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनअनुसार मितव्ययी ढंगले सम्पन्न गरिएको संस्थाले जनाएको छ।
सभामा अध्यक्ष भोलानाथ पाठकले विगत वर्षको प्रगति विवरण प्रस्तुत गर्दै सहकारीको निरन्तर प्रगति सदस्यहरूको सक्रिय सहभागिताको परिणाम भएको बताए। उनले राजनीतिक अस्थिरता, बैंक तथा वित्तीय संस्थामा तरलताको अधिकता, र न्यून ब्याजदरजस्ता चुनौतीले सहकारी क्षेत्र पनि प्रभावित भएको जनाए।
“बैंकहरूले निक्षेपमा न्यून ब्याज दिँदा, संघहरूमा रहेको रकम तरलता गणनामा नसमेटिँदा सदस्यहरूबाट उठाइएको महँगो बचत परिचालनमा कठिनाइ भएको छ,” अध्यक्ष पाठकले भने। यस्तो अवस्थामा कार्यक्रम कटौती गरेर भए पनि संस्था पारदर्शी ढंगले अगाडि बढ्न बाध्य भएको उनको भनाइ थियो।
सभामा अध्यक्षले प्रत्येक सदस्यलाई कम्तीमा १० हजार रुपैयाँ बराबरको शेयर खरिद गर्न आग्रह गर्दै भने, “संस्थाको दीगो विकासका लागि सदस्यहरूको पुँजी अभिवृद्धि आवश्यक छ।” उनले सहकारीमा सदस्यता मात्रै होइन, नियमित बचत, ऋण लिने र समयमा भुक्तानी गर्ने व्यवहार आवश्यक रहेको बताए।
संस्थाले चालु आव २०८१/८२ को असार मसान्तसम्ममा ८ करोड ३३ लाख रुपैयाँ शेयर पुँजी, ६ करोड ६७ लाख जगेडा कोष, ६४ करोड ५२ लाख बचत संकलन, र ७० करोड १४ लाख रुपैयाँ ऋण लगानी गरेको छ। गत आर्थिक वर्षको नाफाबाट संस्थाले शेयर लाभांश कोषमा ३५ लाख ४९ हजार र संरक्षित पुँजी फिर्ता कोषमा १८ लाख ४८ हजार रुपैयाँ छुट्याएको छ।
सभामा कोषाध्यक्ष अवधेश कुमार पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरीवेक्षण समितिका संयोजक दीपक रिजालले समितिको प्रतिवेदन पेस गरेका थिए।
संस्थाले विगत वर्षमा जेष्ठ सदस्य सम्मान, रक्तदान, स्थानीय क्लब तथा समुदायलाई आर्थिक सहयोग जस्ता विविध कार्यक्रम सञ्चालन गरेको थियो।
संस्थाले हाल १६ प्रकारका बचत खाता सञ्चालनमा राख्दै आएको छ भने सदस्यहरूको आवश्यकता अनुसार घर जग्गा खरिद/निर्माण, शैक्षिक, कृषि, उद्यमशीलता, विपन्न वर्गका लागि विभिन्न शीर्षकमा ऋण प्रदान गरिँदै आएको छ।
‘सक्रिय सदस्यको पहिचान, पाँच तारा सहकारीको अभियान’ नारासहित संस्था हाल निस्क्रिय सदस्यता खारेजी अभियानमा जुटेको जनाएको छ।
संस्थाले स्थापनाकालदेखि नै समयमै साधारण सभा सम्पन्न गर्दै आएको र पारदर्शी वित्तीय अभ्यासलाई प्राथमिकता दिएको सभामा उल्लेख गरिएको थियो।





Comment