काठमाडौ । नेपालमा हालै भित्रिएको नयाँ इलेक्ट्रिक गाडी बीवाईडी एट्टो १ (BYD Atto 1) ले अन्तर्राष्ट्रिय स्तरमा पनि ठूलो सफलता हात पारेको छ। विश्व प्रसिद्ध टाइम म्यागेजिनले यो गाडीलाई सन् २०२५ को उत्कृष्ट आविष्कार (Best Inventions of 2025) मध्ये एकको रूपमा चयन गरेको छ।
टाइमले बीवाईडीको यो सस्तो मूल्यको इलेक्ट्रिक कारलाई यातायात (Transportation) श्रेणी अन्तर्गत समावेश गरेको हो। रिपोर्ट अनुसार, बीवाईडी सिगल – जुन नेपालमा एट्टो १ नाममा चिनिन्छ – कम मूल्यमा आधुनिक टेक्नोलोजी उपलब्ध गराउने क्षमता भएको विशेष गाडी हो।
विश्व बजारमा ‘BYD Seagull’, नेपालमा ‘Atto 1’
अन्तर्राष्ट्रिय बजारमा यो गाडी ‘BYD Seagull’ नामले परिचित छ, जुन चीन, युरोप लगायतका देशहरूमा पहिले नै सफल भइसकेको छ। नेपालमा भने यो एट्टो १ को नाममा बजारमा आएको हो।
यो कम्प्याक्ट ह्याचब्याक गाडीले शहरिया यात्रुहरूका लागि उपयुक्त रेन्ज, परफरमेन्स र डिजाईन प्रदान गर्छ। चीनमा यसको मूल्य करिब १०,३०० अमेरिकी डलर (झन्डै १३.७ लाख रुपैयाँ) मात्रै पर्छ, जसका कारण यो विश्वकै एक सस्तो आधुनिक EV को रूपमा चर्चित छ।
प्रविधि र विशेषताहरू
BYD एट्टो १ मा कम्पनीको अत्याधुनिक E-Platform 3.0, Blade Battery र Cell-to-Body (CTB) प्रविधि प्रयोग गरिएको छ, जसले गाडीको संरचना र सुरक्षालाई मजबुत बनाएको छ।
नेपालमा उपलब्ध दुई भेरिएन्ट यस प्रकार छन्:
| मोडेल | ब्याट्री क्षमता | अधिकतम रेन्ज (WLTP) | मूल्य (नेरु) |
|---|---|---|---|
| डाइनामिक | 30.08 kWh | 230 km | रु २८,९५,००० |
| प्रिमियम | 38.88 kWh | 300 km | रु ३२,९९,००० |
यसको अधिकतम गति करिब ८१ किमी/घण्टा हो भने सिंगल चार्जमा लामो दूरी यात्रा गर्न सक्षम छ।
अवार्ड र मान्यता
टाइम म्यागेजिनको सूचिमा परिनुका साथै, BYD Seagull ले World Urban Car of the Year 2025 को उपाधि पनि जितिसकेको छ।
Craig Wilson द्वारा लेखिएको टाइमको विश्लेषणमा भनिएको छ, “यदि तपाईं अमेरिकी हुनुहुन्छ भने BYD को नाम नसुन्नु स्वाभाविक हो, तर आज विश्वका धेरै देशहरूमा BYD एउटा परिचित ब्रान्ड बनिसकेको छ।”
नेपालमा इभिको बढ्दो भविष्य
BYD ले नेपाली बजारमा पहिले पनि डल्फिन, हान, ट्याङ जस्ता मोडलहरू ल्याइसकेको छ, जुन लोकप्रिय भएका छन्। अब एट्टो १ को आगमनले नेपाली ग्राहकहरूलाई कम बजेटमा भरपर्दो EV को विकल्प दिएको छ।
गत साउनमा काठमाडौंमा सम्पन्न नेपाल मोबिलिटी एक्स्पो २०२५ मा एट्टो १ पहिलो पटक सार्वजनिक गरिएको थियो।





Comment