हाम्रो जनकल्याण सहकारीको २८औं वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हाम्रो जनकल्याण सहकारीको २८औं वार्षिक साधारण सभा सम्पन्न



दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असोज ४ गते २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाको उद्घाटन बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जिवसराज खडकाले गरे।

उनले सहकारी संस्थाहरुले सरकारद्वारा जारी मापदण्ड र निर्देशनको पालना गर्दै विगतका परिपाटीमा सुधार गर्नुपर्नेमा जोड दिए। उनले “नीति, विधि र पद्धतिले मात्र सहकारी दिगो हुन्छ” भन्दै हाम्रो जनकल्याण सहकारीले कानून पालना गर्ने परम्परा उच्च प्राथमिकतामा राख्दै आएको बताए।

१० हजारभन्दा बढी शेयर सदस्य आवद्ध सहकारीले गत आर्थिक वर्षमा ९४ करोड २४ लाख ९५ हजार रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व पु¥याएको छ। यसै आधारमा ७ करोड १५ लाख १४ हजार बराबरको आय–व्यय विवरण पारित गरिएको छ। नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५० लाख बराबरको सम्पत्ति तथा दायित्व र १० करोड १९ लाख बराबरको आय–व्यय प्रस्ताव पारित भएको छ।

तर, भाखा नाघेको ऋणमा पर्याप्त नोक्सानी व्यवस्था नभएकाले यस वर्ष शेयर लाभांश वितरण नगर्ने निर्णय गरिएको छ। साधारण सभाले सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड अनुसार संस्थाको विनियम संशोधन, नीति तथा कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ। त्यस्तै, ऋण तथा जोखिम व्यवस्थापन, संस्थागत सुशासन, र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रतिवेदनहरू समेत पारित गरेको छ।

वरिष्ठ उपाध्यक्ष खडकाले सहकारीले पुँजी निर्माण, उद्यमशीलता प्रवद्र्धन र सामाजिक गतिविधिमा योगदान दिँदै जिल्लामा राम्रो छवि बनाएको उल्लेख गरे। जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद शर्माले शेयर सदस्यलाई सक्रिय बनाउन र ऋण भाखा नाघ्दा कानुनी प्रक्रिया ढिला नगर्न सुझाव दिए। दोलखा जिल्ला सहकारी संघका अध्यक्ष भूमिराज खडकाले केही ऐन र नियमले अन्योल सिर्जना गरे पनि समस्याको समाधान गर्दै सहकारीलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।

साधारण सभाको अवसरमा धुलिखेल अस्पताल, दोलखासँग सहकार्य गरेर आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २२७ जनाले सेवा पाएका छन्। मुटु, पेट, सुगर, प्रेसर र महिलासम्बन्धी स्वास्थ्य समस्या बढी रहेको चिकित्सक प्रज्ञा लुइटेलले जानकारी दिए। त्यस्तै, संस्थाका शेयर सदस्यले सञ्चालन गरेको गौरीशंकर छालाजुत्ता उद्योगका जुत्ता–चप्पलहरुको प्रदर्शनी पनि गरिएको थियो।

साधारण सभामा उत्कृष्ट कारोबार गर्ने १४ जना शेयर सदस्यलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। बचत, ऋण, उद्यमशीलता, पूर्व सञ्चालक र पुराना सदस्यलाई समेत विशेष सम्मान प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले जानकारी दिए।

प्रकाशित : 21 September, 2025 6:31 pm