काठमाडौं । कुनै समय अटोमोबाइल व्यापारको मुटु मानिने थापाथली सडक आजभोलि घाइते जस्तो देखिन्छ। दसैं नजिकिँदै गर्दा हरेक वर्ष यहाँ नयाँ मोडल हेर्न, टेस्ट–ड्राइभ गर्न र गाडी किन्न आउने भीडले सडक साँघुरो बन्ने गर्थ्यो। तर यसपालि त्यो रौनक हराएजस्तो छ।

चाडबाड नजिकिँदा टलक्क टल्कने सिसा, भित्र टाँसिएका अफरका व्यानर र झकिझकाउ नयाँ गाडीहरूले जो–कोहीलाई पनि शोरुम तिर तान्ने गर्थे। अहिले भने दृश्य उल्टिएको छ । कहीं हरियो जालीले छोपिएका भवन, कामगर्ने कामदारमात्र देखिन्छन् । भित्र पस्दा देखिने हलचल, ग्राहकको आवाज र कर्मचारीको व्यस्तता पनि हराइसकेका छन्।

भदौ २४ गते दिउँसो आन्दोलनकारीको उथलपुथलले यस क्षेत्रलाई ठुलो चोट पुर्यायो। जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरू केवल सडकमै सीमित रहेनन् । सिजी मोटर्स, हुण्डाईदेखि महिन्द्रासम्मका शोरुम उनीहरूको आक्रोशको निशाना बने। कतै भर्खरै भित्र्याइएका गाडीहरू आगोको लप्कामा खरानी भए । कतै लाखौँ मूल्यका सिसा र फर्निचर चकनाचुर भए। एकै क्षणमा करोडौँको सम्पत्ति धुलोमा परिणत भयो।

त्यो दिनको दृश्यले व्यवसायी मात्र होइन । दैनिक रोजगारीमा आउने कर्मचारीहरूलाई पनि मानसिक आघात दियो। कतिपय अझै सोचिरहेछन् । ‘हाम्रो काम सुरक्षित छ कि छैन ? ‘ तर निराशाबीच पनि आशाको किरण बाँकी छ। सबै शोरुमहरूको भाग्य उस्तै भएन । केही जोगिए, केहीमा सामान्य क्षति मात्र भयो। बाँचेका सम्भावनालाई आधार बनाएर व्यापारीहरूले फेरि उठ्ने र बजारलाई चहलपहलतर्फ फर्काउने प्रयास सुरु गरिरहेका छन्।

‘डरको रात, संघर्षको बिहान’

फोर्ड शोरुमका एक कर्मचारी भन्छन्, ‘त्यो दिन हामी डराएका थियौं, झ्यालभित्रबाट हेर्दै थियौं । कहिले हाम्रो पालो आउला भनेर, जोगियौँ। तर बजार सन्चो छैन। अहिले दशैं अफर ल्याएका छौं, तर ग्राहकको मन फिर्ता ल्याउनु सजिलो छैन।’ व्यवसायीहरूले दशैं र तिहार लक्षित छुट योजना ल्याएका छन्। विभिन्न मोडलमा नगद छुट, एक्सचेञ्ज बोनस र सजिलो वित्तीय योजना ल्याएर शोरुमहरू पुनः ग्राहकको भरोसा जित्ने प्रयासमा छन्।
सुजुकी शोरुमको पुनर्निर्माण
क्षति पुगेको सुजुकी शोरुममा रहेका ११ वटा गाडीमध्ये ४ वटा गाडी आगलागीमा पूर्ण नष्ट भए। अब ती जलेका गाडी हटाएर शोरुमलाई नयाँ स्वरूप दिन कर्मचारीहरू दिनरात सरसफाइ र मर्मतमा जुटिरहेका छन्।
‘दशैं नजिकिँदा हामीले फेरि शोरुम खुलाउने मनोबल बनाएका छौं। यो व्यापार सजिलै छाड्ने कुरा होइन। हाम्रा कर्मचारी, हाम्रा ग्राहक, सबैलाई फेरि विश्वास दिलाउनुपर्छ,’ शोरुमका एक प्रबन्धकले बताए।
तर पीडित शोरुमहरूको गुनासो पनि छ । ‘सधैं चाडबाडतिर बढ्ने चहलपहल यसपालि उल्टै पुनर्निर्माणमा खर्चिनुपर्ने भयो। व्यापारभन्दा बढी चित्त बुझाउने र भौतिक क्षति मर्मत गर्ने काममा ध्यान दिनुपर्यो।’
अन्य शोरुमहरूको अवस्था

यो क्षति सुजुकीले मात्र होइन, त्यससँगै रहेका महिन्द्रा, हुण्डाई, सिप्रदी टाटा अटो लगाएतका शोरुमहरूले पनि व्यहोरे। कतै गाडी जले, कतै सिसा फुटे, कतै स्टक बिग्रियो। तर सबै शोरुमहरूले मनोबल उठाएर फेरि व्यापार सुरु गर्ने तयारी गरेका छन्।
टाटा मोटर्सले क्षतिग्रस्त संरचना पछाडीबाट अस्थायी टेन्ट राखेर सेवा सुचारु गरिसकेको छ। कर्मचारीहरू भन्छन्, ‘भवन त भत्कियो, तर मनोबल भत्केको छैन। दशैंलाई लक्षित गरेर विभिन्न अफर ल्याएका छौं।’
त्यसैगरी नजिकै रहेका तर आन्दोलनकारीको निशानामा नपरेका निसान, कियालगायतका अन्य शोरुमहरूले पनि चाडपर्वलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरिसकेका छन्। सजिलो किस्ता योजना, मूल्य छुट, इन्सुरेन्समा सुविधा जस्ता प्रलोभन दिएर ग्राहकलाई फेरि आकर्षित गर्ने कोसिस भइरहेको छ।
ग्राहक फर्काउने चुनौती

व्यवसायीहरू भन्छन्, यो पटकको मुख्य चुनौती भनेको ग्राहकको मनोबल फर्काउनु हो। ‘गाडीमा लगानी गर्नेहरूलाई सुरक्षित वातावरण चाहिन्छ। त्यो दिनको दृश्यले धेरैलाई डराएको छ। फेरि बजारमा आउने उत्साह जगाउन समय लाग्छ,’ थापाथलीस्थित एक शोरुम कर्मचारीले भने, गत वर्षको तुलनामा यसपटक व्यापार सुस्त छ। अफरका ब्यानर, चम्किला लाइट र नयाँ मोडल देखिए पनि ग्राहकको ओहोरदोहोर खासै छैन।

तरपनि थापाथलीको सडक फेरि पुरानै जस्तो चहलपहलले भरिने आशा व्यवसायीहरूले राखेका छन्। भन्छन्, समय लाग्छ तर ग्राहक फर्कन्छन् भन्ने हामीलाई भरोसा छ। चाडपर्व व्यापारको राम्रो समय हो । त्यसैले यसैलाई आधार बनाएर हामी फेरि उठ्ने प्रयासमा छौं।
हाल थापाथलीमा शटर फेरि खुलेका छन् । बोर्ड टाँसिएका छन् । नयाँ अफरका ब्यानर लहराइरहेका छन्। देख्नमा त सामान्य अवस्थामा फर्केको जस्तो लाग्छ। तर भित्रभित्रै अझै पुनर्निर्माण र पुनःविश्वास जित्ने संघर्ष जारी छ।





Comment