हिल्टन होटेल पुनर्निर्माणको संकल्प : संकटलाई अवसरमा बदल्दै उद्यमशीलताको नयाँ यात्रा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिल्टन होटेल पुनर्निर्माणको संकल्प : संकटलाई अवसरमा बदल्दै उद्यमशीलताको नयाँ यात्रा



काठमाडाै । काठमाडौंको नक्सालमा रहेको अन्तर्राष्ट्रिय स्तरको होटल, हिल्टन होटेल, हालैको जनजी आन्दोलनका क्रममा तोडफोड र आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भए पनि यसको प्रवर्द्धक समूहले हार नमान्ने घोषणा गरेको छ। इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालले जारी गरेको विज्ञप्तिमा यो घटनाबाट मानसिक रूपमा पीडित भए पनि व्यवसायिक संकल्प अझ मजबुत बनेको बताएका छन्।

भट्ट र अग्रवालका अनुसार, लामो परिश्रम र अथक प्रयासपछि सञ्चालनमा आएको होटललाई ध्वस्त पार्ने कार्यले नेपाल मात्र होइन, विश्व समुदायमा पनि नकारात्मक सन्देश दिएको छ। तर, उनीहरूले यसलाई अन्त्य नभई नयाँ सुरुवातको आधारका रूपमा लिने दृढता प्रकट गरेका छन्।

“यो संकटलाई हामी अवसरमा बदल्नेछौं,” विज्ञप्तिमा भनिएको छ, “हामी आफ्नो व्यवसायलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँदै नेपाल र नेपालीको हितका लागि योगदान गर्नेछौं।”

स्थानीय लगानीमै ठूलो परियोजना

८ अर्ब रुपैयाँ बराबरको लगानीमा स्थापना गरिएको यो होटल जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको हो। नेपालमै ठुलो जोखिम मोलेर गरिएको यस परियोजनाले देशमा प्रत्यक्ष रोजगारी र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको थियो।

भट्ट र अग्रवालका अनुसार, धेरै अवसरलाई त्याग्दै, विदेशमा मात्र नभई आफ्नै देशमा ठूलो काम गर्ने उद्देश्यले यो होटल स्थापना गरिएको थियो। उनीहरूले भ्रमपूर्ण प्रचार र राजनीतिक हस्तक्षेपका कारण होटलमा आक्रमण भएको भन्दै सत्यतथ्य बुझ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।

भ्रामक समाचारप्रति चेतावनी

हालै सामाजिक सञ्जाल र विभिन्न अनलाइन प्लेटफर्ममा होटलको स्वामित्वबारे गलत र कपोलकल्पित समाचार फैलाइएको भन्दै समूहले गुनासो गरेको छ। उनीहरूको भनाइमा, यस्ता प्रचारले केवल लगानीकर्तालाई मात्र होइन, सम्पूर्ण देशको पर्यटन उद्योगलाई पनि नकारात्मक असर पुर्‍याउँछ।

भट्ट र अग्रवालले भने, “हामी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा, बुबालाई अनुरोध गर्छौं—
भ्रामक समाचारको पछाडि नलागौं र नेपालको पर्यटनको भविष्य बचाऔं।”

भविष्यप्रति दृढ प्रतिबद्धता

होटल हिल्टनको ध्वंसलाई समूहले आफ्नो उद्यमशील यात्राको अन्त्य नभई, अझै ठुलो सपनाको सुरुवातका रूपमा लिएको छ।
उनीहरूको लक्ष्य होटललाई अझ आधुनिक र सुरक्षित संरचनासहित पुनर्निर्माण गर्दै नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु सकारात्मक रूपमा प्रस्तुत गर्ने रहेको छ।

भट्ट र अग्रवालले अन्त्यमा भनेका छन्, “यो हाम्रो मात्र होइन, सम्पूर्ण नेपालीको गौरवको प्रतीक हो। हामी फेरि उठ्नेछौं र नेपाललाई पर्यटकमैत्री गन्तव्यका रूपमा स्थापित गर्न योगदान गर्नेछौं।”

यस घटनाले नेपालको पर्यटन उद्योगलाई ठूलो चुनौती दिए पनि प्रवर्द्धक समूहको दृढता र आशावादी दृष्टिकोणले यो संकटलाई अवसरमा बदल्ने सम्भावना अझै जीवित राखेको छ।

प्रकाशित : 15 September, 2025 2:26 pm