काठमाडौँ । नेपालमा मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो २० वर्षको यात्रा पुरा गरेको छ। सन् २००४मा स्थापित यो कम्पनीले २००५ मा पहिलो पटक आफ्नो सेवाको सुरुवात गरेको थियो।
त्यसबेला नेपालमा मोबाइल प्रयोगकर्ताको सङ्ख्या केवल ६ प्रतिशत थियो, तर आज यो कम्पनीले एक करोड ४० लाख ग्राहकलाई सेवा दिइरहेको छ र मोबाइल पेनिट्रेसन १०० प्रतिशत नाघिसकेको छ।
शुरुआतमा ‘मेरो मोबाइल’ नामबाट परिचित भएको यो कम्पनी चार वर्षपछि स्विडेनको टेलिया समूहमा सामेल भएको थियो। पछि, सन् २०१० मा यसले आफ्नो नाम ‘एनसेल’ राखेको थियो। २०१६ मा एनसेल आजियाटा समूहमा समाहित भएको र २०२३ मा बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडको स्वामित्वमा आएका एनसेलको ८० प्रतिशत शेयर रहेको छ।
प्रविधिमा क्रान्ति
२००० दशकको अन्त्यतिर नेपालमा मोबाइल नेटवर्कको पहुँच सीमित थियो, तर एनसेलको आगमनसँगै देशभर मोबाइल सेवा फैलियो। कम्पनीले सुरुमा GSM, EDGE, र HSPA+ जस्ता प्रविधिहरूको उपयोग गर्दै फोरजी सेवा २०१७ मा सुरु गरेको थियो। यससँगै ई–कमर्स, टेलिमेडिसिन, मोबाइल बैंकिङ जस्ता क्षेत्रमा उल्लेखनीय वृद्धि भएको दाबी गरिएको छ। अहिले देशभर एनसेलको फोरजी कभरेज ९५ प्रतिशत पुगिसकेको छ, जुन यसको प्रमुख उपलब्धि हो।
अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान
एनसेलले हालसम्म नेपाल सरकारलाई तीन खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी कर बुझाइसकेको छ। सन् २०१६ मा कम्पनीको स्वामित्व परिवर्तन हुँदा मात्र ४७ अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेको थियो। साथै, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढी रोजगार सिर्जना गरेको छ, जुन नेपाली अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान हो।
सामाजिक उत्तरदायित्व
एनसेलले स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। काठमाडौँको रिङरोडमा हरियाली बढाउनेदेखि, ६० भन्दा बढी विद्यालयमा आधुनिक आईटी प्रयोगशाला स्थापना गर्ने जस्ता सामाजिक परियोजनामा यो कम्पनी सक्रिय छ। एनसेल फाउन्डेसनको स्थापना पछि, यसले सामाजिक र आर्थिक रुपान्तरणका विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ।
चुनौतीहरू
पछिल्लो पाँच वर्षमा कम्पनीको आम्दानीमा २५ प्रतिशतको गिरावट आएको छ, जुन चिन्ताको विषय बनेको छ। जबकि छिमेकी देशहरू बंगलादेश र श्रीलंकामा दूरसञ्चार उद्योगको आम्दानी ४० प्रतिशतले बढेको छ, नेपालमा भने स्थिति उल्टो देखिएको छ। नेपालमा प्रतिग्राहकको मासिक डेटा खपत ६ जीबी मात्र रहेको छ, जबकि भारतमा यो २० जीबीको आसपास पुगिसकेको छ। यसले नेपालमा डेटा प्रयोगको कमि र इन्टरनेट पहुँचको आवश्यकताको समस्या उजागर गरेको छ।
एनसेलले नेपालको टेलिकम उद्योगको घट्दो आकार र आम्दानीको गिरावटका कारण नयाँ प्रविधिमा लगानी रोकिएको जनाएको छ। कम्पनीले फाइभजी सेवामा ६० अर्ब रुपैयाँको लगानी आवश्यक पर्ने र वर्तमान नाफाभन्दा १२ गुणा बढी लागत पर्ने भएकाले तत्काल यो प्रविधि सञ्चालनमा ल्याउन सकिने अवस्था छैन।
नयाँ कानूनी सुधारको आवश्यकता
एनसेलले दूरसञ्चार ऐनको संशोधन र २० अर्ब रुपैयाँको नवीकरण शुल्कमा पुनरावलोकनको माग गरेको छ। कम्पनीका अनुसार, नयाँ कानूनी प्रावधानहरू र नवीकरण शुल्कको उचित समायोजन भएमा नेपाली दूरसञ्चार क्षेत्रलाई पुनः प्रगति र विकासको बाटोमा लैजान सकिन्छ।





Comment