काठमाडौं । हालै देशव्यापी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिले बीमा क्षेत्रमा ठूलो प्रभाव पारेका छन्। यसै विषयमा नेपाल बीमा प्राधिकरणले बिहीबार कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग विशेष छलफल गरेको छ।
छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुखहरूले साना बीमा दाबी रकम तत्कालै भुक्तानी गर्न सकिने र ठूलो दाबी रकम पुनर्बीमकको अग्रिम सहयोगमार्फत भुक्तानी गर्नुपर्ने आवश्यकता औंल्याए। तरलता व्यवस्थापनमा पुनर्बीमकहरूले सहजीकरण गर्नुपर्नेमा पनि जोड दिइयो। साथै, आन्दोलनका क्रममा पूर्णरूपमा क्षति भएका सम्पत्तिको दाबी भुक्तानी गर्दा विशेष परिस्थितिका कारण सर्भे प्रतिवेदन र प्रहरी वा वडा कार्यालयको सिफारिस पाउन कठिन हुने भएकाले न्यूनतम कागजातका आधारमा दाबी भुक्तानी गर्नुपर्ने सुझाव राखियो।
पुनर्बीमा कम्पनीका प्रमुखहरूले दाबी भुक्तानीमा सहयोग गर्न तयार रहेको बताए। तर, बीमकहरूले पठाउने प्रस्ताव तथा तथ्याङ्क विश्वसनीय हुनुपर्नेमा जोड दिए।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले हालको गैरप्राकृतिक विपद्मा बीमा दाबी सहज बनाउन बीमा नियमावली २०८१ अनुसार संक्षिप्त कार्यविधि लागू गर्न सकिने बताए। उनले बीमक र पुनर्बीमक प्रमुखलाई तीन दिनभित्र राय–सुझाव दिन आग्रह गरे। साथै, बीमा गरेपछि दाबी पाईन्छ भन्नेमा सर्वसाधारणलाई आश्वस्त गराउन र दाबी प्रक्रियामा सहजता ल्याउन बीमकहरूले फोकल पर्सन तोकेर सार्वजनिक जानकारी दिनुपर्ने निर्देशन दिए।
यस्तै, नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर संघ, नेपालसँग पनि छुट्टै छलफल गरेको छ। संघका पदाधिकारीहरूले न्यूनतम कागजातका आधारमा सर्भे प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने, सर्भेयरलाई समानुपातिक रूपमा काम दिने, क्षति भएका क्षेत्रमा सहज प्रवेशको व्यवस्था मिलाउने र सर्भेयरलाई अझ जिम्मेवार बनाउनुपर्ने सुझाव राखे।
त्यस अवसरमा निर्देशक सुवेदीले गम्भीर विपद्को अवस्थामा संक्षिप्त कार्यविधि लागू गर्ने तयारी भइरहेको जनाउँदै तीन दिनभित्र राय–सुझाव दिन आग्रह गरे। उनले सर्भेयरहरूले प्राप्त इजाजतपत्रअनुसार हालको अवस्थामासमेत सहजै काम गर्न सक्ने स्पष्ट पारे।
कार्यक्रममा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, शाम्भराज लामिछाने, पूजन ढुङ्गेल अधिकारी तथा बीमा सर्भेयर संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।





Comment