स्पेयर टायर नपाउँदा मुख्यमन्त्री बानियाँ विद्युतीय गाडी बेच्ने सोचमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

स्पेयर टायर नपाउँदा मुख्यमन्त्री बानियाँ विद्युतीय गाडी बेच्ने सोचमा



काठमाडौं ।  मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सानो कारणका कारण आफू विद्युतीय गाडी बेच्ने अवस्थामा पुगेको अनुभव सार्वजनिक गरेका छन्। केन्द्रबिन्दु मिडियाद्वारा आयोजित ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रममा बोल्दै उनले गाडीमा स्पेयर टायर नहुँदा ठूलो असुविधा भोग्नु परेको बताए।

उनका अनुसार, दुई पटक बाटोमा टायर पञ्चर हुँदा विकल्पका लागि टायर नपाएपछि गाडी बीच बाटोमै छाडेर पैदल हिँड्नु परेको थियो। “एक पटक त परिवारसहित अर्को गाडी मगाएर यात्रा पूरा गर्नुपर्‍यो, अर्को पटक त पठाओ प्रयोग गरेर यात्रा गर्नुपर्‍यो,” उनले भने।

बानियाँले विद्युतीय गाडीलाई सरकारले प्राथमिकतामा राखी पूर्वाधार निर्माणदेखि कर छुटसम्मको व्यवस्था गरेको भए पनि व्यवसायीहरूले उपभोक्तालाई आवश्यक सेवा दिन नसकेको टिप्पणी गरे। उनका अनुसार, यस्तो लापरबाहीका कारण उपभोक्तामा विद्युतीय गाडीप्रतिको रुचि घट्दै गएको छ।

आफ्नो विद्युतीय गाडी आधा मूल्यमै बिक्रीका लागि राखेको जानकारी दिँदै उनले गाडी विक्रेताहरूमाथि कटाक्ष गर्दै भने, “गाडी बेच्नु मात्र हैन, ग्राहकलाई आवश्यक सेवा र सन्तुष्टि दिनु पनि जरुरी छ। उपभोक्ताको सन्तुष्टि नै तपाईँहरूको पहिलो प्राथमिकता हुनुपर्छ।”

उनले आयातकर्तालाई सर्भिस, स्पेयर पार्ट्स र अन्य आवश्यक सेवामा सुधार गर्न सुझाव दिए। साथै, उनले विद्युतीय गाडी खरिदका लागि ८० प्रतिशतसम्म कर्जा नदिने बैंकको नीतिमाथि प्रश्न उठाउँदै भने, “सरकारले धेरैलाई विद्युतीय गाडी प्रयोग गर्न सजिलो होस् भनेर कर छुट दिएको हो, तर बैंकहरूले एकै पटक धेरै रकम तिर्नुपर्ने बाध्यता बनाएका छन्, जसलाई तत्काल सुधार गर्नुपर्छ।”

कार्यक्रममा विद्युतीय गाडीसम्बन्धी विभिन्न विषयमा प्यानल छलफल भएको थियो। साथै, विभिन्न ब्रान्डका उत्कृष्ट कार मोडेललाई अवार्ड प्रदान गरिएको थियो।

प्रकाशित : 10 September, 2025 5:09 pm