विद्युतीय सवारीसाधनमा नबिल बैंकको ८ अर्ब लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विद्युतीय सवारीसाधनमा नबिल बैंकको ८ अर्ब लगानी



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बैंकले हालसम्म ३ हजार १ सय भन्दा बढी विद्युतीय सवारीसाधनमा करिब ८ अर्ब रुपैयाँ लगानी गरिसकेको बताएका छन्।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा आयोजित ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रममा बोल्दै उनले अटो लोनलाई सुरक्षित लगानीको क्षेत्रमा गनिन सकिने बताए। उनका अनुसार नेपाल राष्ट्र बैंकको नीतिले खुद्रा (रिटेल) कर्जामा लगानीलाई सीमित गरे पनि अटोमोबाइल कर्जामा डिफल्ट दर न्यून छ, जसले यो क्षेत्रमा जोखिम कम रहेको संकेत गर्छ।

“अटोमोबाइल क्षेत्रमा गरिएको लगानीले अर्थतन्त्रलाई फाइदा नपुग्ने भन्ने धारणा गलत हो,” ज्ञवालीले भने, “डिफल्ट दर न्यून हुनु भनेको यो क्षेत्र सुरक्षित र दिगो लगानीको अवसर हो भन्ने प्रमाण हो।”

ज्ञवालीका अनुसार व्यक्तिगत प्रयोजनका लागि लिइने अटो लोनमा डिफल्ट दर अत्यन्तै कम देखिएको छ। तर, व्यावसायिक प्रयोजनका सवारीसाधनमा भने केही समस्या देखिने गरेको जानकारी उनले दिए।

कार्यक्रममा उनले विद्युतीय सवारीसाधनको सञ्चालन खर्चबारे तुलनात्मक विवरण प्रस्तुत गरे। उनका अनुसार विद्युतीय स्कुटरमा प्रति किलोमिटर ४०–५० पैसा मात्र खर्च लाग्छ भने विद्युतीय गाडीमा प्रति किलोमिटर १.५० देखि २.५० रुपैयाँ खर्च हुने गरेको छ। यो पेट्रोल वा डिजेलबाट चल्ने सवारीसाधनको तुलनामा निकै कम हो।

उनले विद्युतीय सवारीसाधनको प्रयोगले इन्धन आयात घटाउने, वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने र दीर्घकालीन रूपमा राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित : 8 September, 2025 10:53 am